आज विश्व रेडियो दिवस

 फागुन १, २०७५ बुधबार ८:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

आज विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसयता हरेक रेडियो दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९९ वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६८ वर्ष पुगेको छ । भोजपुरमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या ९ सय ६२ पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सामुदायिक रेडियोको छाता संगठन सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोर्‍याब) को वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँदैछ । विश्व रेडियो दिवसको अवसर पारेर अकोर्‍याब केन्द्रीय समितिले तीन दिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोका प्रमुख तथा प्रतिनिधि, रेडियो अभियन्ता र सञ्चार क्षेत्रका अगुवाको सहभागिता रहनेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया