महानगरको जग्गामा जीपी कोइराला फाउण्डेशन, जग्गा स्वामित्व विवादले सर्‍यो कार्यक्रमस्थल

 फागुन १, २०७५ बुधबार १७:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - वीरगञ्ज महानगरपालिकाले जग्गाको स्वामित्व देखाएपछि नेपाली कांग्रेसले  वीरगञ्जमा स्थापना गर्न लागेको जीपी कोइराला फाउन्डेशनको उद्घाटन कार्यक्रम सारेको छ । 

कांग्रेसले फागुन ४ गते  वीरगञ्ज वडा नम्वर १० मा पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा निर्माण गरेको भनिएको जीपी कोइराला फाउन्डेसनको उद्घाटन कार्यक्रम तय गरेको थियो ।  

तर महानगरले फाउण्डेसन बनाइएको भनेको जग्गा आफ्नो स्वामित्वको रहेको भन्दै त्यस ठाउँमा कुनै पनि कार्यक्रम नगर्न भनेपछि कांग्रेसले कार्यक्रम स्थल सारेको हो ।  

फाउण्डेशनको उद्घाटन कार्यक्रममा कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला तथा फाउण्डेशनको केन्द्रीय अध्यक्षसमेत रहनुभएकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला आउनुहुने कांग्रेस पर्साले जनाएको छ । 

महानगरको स्वामित्वमा रहेको जग्गामा पार्टीका शीर्षस्थ नेताहरुलाई बोलाएर उद्घाटन गर्ने कार्यक्रम तय गरिनुले नेताहरुलाई समेत विवादमा पार्ने भन्दै महानगरले उक्त स्थानमा कुनै पनि कार्यक्रम नगर्न कांग्रेस पर्सा र फाउन्डेशनलाई छुट्टाछुट्टै पत्र पठाएको थियो ।  

कांग्रेस पर्साको बुधबार बसेको बैठकले कार्यक्रम स्थल सारेरै भए पनि फागुन ४ गतेका लागि तोकिएको कार्यक्रम भने स्थगित नगर्ने निर्णय गरेको छ । फाउण्डेशनको उद्घाटन कार्यक्रम अब आदर्शनगरस्थित पशुपति आदर्श स्कुल बाल मन्दिरको प्राङ्गणमा गरिने कांग्रेस पर्साले जनाएको छ ।  

जी पी कोइराला फाउन्डेशनको नाममा निर्माण भएको भवन रहेको एक कट्ठा जग्गा महानगरपालिकाको स्वामित्वमा रहेको भन्दै महानगरपालिकाको स्वीकृतिबिना जग्गा उपयोग गर्ने अधिकार कुनै पनि संघसस्था तथा व्यक्तिलाई नहुने भन्दै कार्यक्रम नगर्न पत्राचार गरेको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया