शुक्लाफाँटामा रमाए उपराष्ट्रपति पुन (फोटो फिचर)

 फागुन १, २०७५ बुधबार २०:४८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बाह्रसिंगे जनावरको विश्वमै ठूलो बथान देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एसियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुलको भ्रमण गर्नुभएको छ । 

उहाँले बुधबार विश्वकै ठूलो घाँसेमैदान समेत मानिने शुक्लाफाँटा र महाकाली नदीमाथि बनेको झोलुङ्गे पुलको भ्रमण गर्नुभएको हो । 

बिहीबारदेखि पर्यटकीय क्षेत्र बेदकोट ताल परिसरमा सुरु हुने बेदकोट धार्मिक पर्यटन मेला–२०७५को उद्घाटन समारोहमा सहभागी हुन कञ्चनपुर पुग्ने क्रममा उपराष्ट्रपति पुनले विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुभएको हो । बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष २०७५ अन्तर्गत बेदकोट धार्मिक पर्यटन मेला आयोजना गरेको छ । 

सुदूरपश्चिमकै पर्यटनको केन्द्र बनिरहेको झोलुङ्गे पुल भ्रमणको क्रममा उपराष्ट्रपतिलाई भीमदत्त नगरपालिकाले अभिनन्दन गरेको छ । उपराष्ट्रपति पुनले झालेङ्गे पुल वारपार गर्नुभएको थियो । झोलुङ्गे पुलले भीमदत्त र महाकाली नगरपालिकालाई जोड्ने गर्दछ ।

झोलुङ्गे पुलको अवलोकनपछि आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सुदूरपश्चिमको भ्रमण गर्न पाउँदा गौरव लागेको बताउनुभयो । उहाँले शुक्लाफाँटा, महाकाली माथिको झोलुङ्गे पुल, खप्तड, घोडाघोडी यसै प्रदेशमा रहेको उल्लेख गर्नुहुँदै यी सबै सुदूरपश्चिमको समृद्धिको आधार भएको बताउनुभयो ।

अघिल्ला समयहरुमा सुदूरपश्चिम पिछडिएको बताउनुहुँदै उहाँले अब सुदूरपश्चिमले समृद्ध बनेर अरु प्रदेशहरुलाई सन्देश दिनुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिमको समृद्धिका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

उहाँको भ्रमणको क्रममा सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल, प्रदेशसभा सभामुख अर्जुनबहादुर थापा, प्रतिनिधिसभा सदस्य दिपक भट्टलगायत सहभागी हुनुहुन्थ्यो ।

 

सबै तस्बिर – मनोज पुन, उपराष्ट्रपतिका प्रेस संयोजक
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया