प्रधानमन्त्री ओलीले भने: नयाँ पिँढीका भाइबहिनीहरुलाई ह्याप्पी भ्यालेन्टाइन्स डे

 फागुन २, २०७५ बिहिबार १७:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्ष उपलब्धिमूलक रहेको दावी गर्नुभएको छ ।

देशवासीको नाममा सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्ष समृद्धिको आधार तयार पार्न खर्च भएको भन्दै एक वर्षभित्र गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभयो । 

पहिलो एक वर्षमा वैदेशिक श्रम सम्बन्धमा सुधार ल्याउन सफल भएको, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा तथा लगानी बढेको, पर्यटक आगमन वृद्धि भएको, साना किसानहरुको ऋण मिनाहा गरिएको, श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको जस्ता कामको सूची सुनाउन भ्याउनुभयो । 

यस्तै कृषकहरुले समयमा नै मल बीउ प्राप्त गरेको तथा २ हजार हेक्टर कृषि क्षेत्रमा थप सिँचाई सेवा विस्तार गर्न, कृषि रेल मार्ग र अन्तरदेशीय जलमार्गको क्षेत्रमा उल्लेख्य सुधार ल्याउन सफल भएको पनि उहाँले बताउनुभयो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न स्थानमा ११ वटा श्रम कार्यालय स्थापना गरेर सातै प्रदेशबाट श्रम स्वीकृति लिने व्यवस्था मिलाइएको, समयमा नै विद्यार्थीहरुको हात हातमा पाठ्यपुस्तक पुर्याउन सरकार सफल भएको उहाँले बताउनुभयो ।  

योगदानमा आधारित सामाजिक कार्यक्रमको सुरुवात गर्नु, प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात हुनु, पानी जहाज कार्यालय सञ्चालनमा आउनु, नेपालको पानी जनताको लगानी कार्यक्रमलाई अगाडि बढाउनुजस्ता कार्यक्रम दीर्घकालिन प्रभाव राख्ने खालको रहेको भन्दै यसले देश समृद्ध बनाउने आधार तय गरेको प्रष्ट पार्नुभयो । 

सरकारले आवश्यक ऐन कानुन बनाउँदै काम पनि गरेर देखाउनुपर्ने अवस्था रहेको भन्दै त्यसका बाबजुद पनि देशलाई समृद्ध बनाउने दिशामा सरकार अघि बढेको दावी गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एक वर्ष अघि भाँडा खाली थियो, त्यसमा मैले आधा भर्ने काम गर,ेँ कतिपयले त्यसलाई आधा खालि रहेको भनेर प्रचार गर,े त्यसलाई मैले कसरी बुझाउने ?’

काम नगर्नेका लागि केही पनि नहुने भन्दै उहाँले काम गर्नेले भने हावाबाट पनि आम्दानी गर्ने बाटो खोज्ने बताउनुभयो । सरकार अहिले देशलाई समृद्ध र विकासको बाटोमा डोर्याउने गरी कामको गति बढाइरहेको बताउनुभयो । 

अबको दिन भनेको थप विकासको, थप उन्नति, थप प्रगति र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य नजिकिएको पनि बताउनुभयो । राष्ट्र निर्माणको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्नुहुँदै उहाँले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।  

सम्बोधन टुंग्याउँदै उहाँले भन्नुभयो,‘सबैलाई धेरै धेरै धन्यवाद, नयाँ पिँढीका भाइबहिनीहरुलाई ह्याप्पी भ्यालेन्टाइन्स डे । धन्यवाद ।’  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया