९-९ महिनामा सरकार फेर्ने बानी परेकाले बानी फेर्नुपर्छ, अब सरकार फेरिँदैन : प्रधानमन्त्री ओली

 फागुन २, २०७५ बिहिबार १८:१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।  

प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दे वर्तमान सरकारको एक वर्ष संघीयता, सुशासन र समृद्धिको आधार वर्ष भएको दाबी गर्नुभयो । 

आफ्नो नेतृत्वको एक वर्षको अवधिमा विकासका लागि कैयौँ आधार श्रृजना भएको भन्दै उहाँले यस वर्षलाई विकासको आधार वर्ष भएको दाबी गर्नुभयो । एक वर्षे कार्यकालमा लगानी प्रवर्द्धनका लागि उपयुक्त वातावरण बनेको, उर्जा उत्पादन तथा प्रसारणका लागि ठूला परियोजनाहरु निर्माण गरिएको, उद्योग स्थापनाका लागि आधार तयार भएको तथा सडक निर्माणलगायतमा उल्लेख्य प्रगति हासिल गरेको उहाँले दाबी गर्नुभयो ।

अहिले सुशासनका संयन्त्रहरु क्रियाशील रहेको भन्दै उहाँले भ्रष्टाचारमा साविति बयान दिनेहरुले नै सरका विरुद्ध औला ठड्याउने काम गरको दाबी गर्नुभयो ।  नौ /नौ महिनामा सरकार फेरिरहने बानी परेकाहरुलाई आफ्नो बानी सुधार्न आग्रह गर्दै उहाँले भन्नुभयो ‘अब सरकार फेरिँदैन त्यसैले अब बानी फेर्नुपर्छ ।’ 

निर्वाचन पछिको पहिलो बर्षलाई आफुले संविधान कार्यान्वयनका लागि संरचनागत व्यवस्थापन र समृद्धिको आधार बर्षको रुपमा लिएको पनि बताउनुभयो । वर्तमान सरकारले कानुन बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी गर्दै अहिलेसम्म संविधानसँग बाझिने कयौँ कानुनहरु बनाइएको दाबी गर्नुभयो ।  

सरकारको एक वर्षे अवधिमा त्रिभुवन विमानस्थल २२ घण्टा संञ्चालनमा ल्याइएको तथा देशभरका विमानस्थलमा सुधार गरिएको, जलविद्युत् आयोजनाहरुको निर्माण कार्य धमाधम अगाडि बढाइएको, सडक विस्तार र स्तरोन्नती गरिएको, पक्की पुल, झोलुङगे पुल, रेल मार्ग निर्माण, तुइन विस्थापन लगायतका विकासका काम गरेको भनेर फेहरिस्त पेश गर्नुभयो ।  

उद्योग क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल भएको भन्दै उहाँले नवलपरासीको धौवादीमा भौगर्भिक भण्डार क्षेत्र फेला परेको, वीरगंज एकिकृत भन्सार चौकिको संचालन, पेट्रोलियम पाइप लाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको जस्ता कामको सूची नै प्रस्तुत गर्नुभयो । छिमेक नीति र परराष्ट्र नीतिमा उल्लेख्य परिर्वतन ल्याइएको भन्दै उहाँले ‘सबैसँग गहिरो मित्रता कसैसँग पनि छैन शत्रुता’ भन्ने नाराका साथ सरकार अघि बढेको स्पष्ट पार्नुभयो । 

उद्योग तथा पर्यटन क्षेत्रको विस्तार र विकास, धान मकैलगायत तरकारीको उत्पादन बृद्धि गरिएको, खाद्यान्न संकट हुने जिल्लामा यस वर्ष खाद्यान्न संकट नभएको र अब नहुने अवस्थामा पुर्‍याइएको, कृषि आधुनिकीकरण अन्तरगतका कार्यक्रमलाई विस्तार गरिएको, साना किसानको ऋण मिनाहा गरिएको, वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी ल्याउन सफल भएको र रेमिट्यान्स वृद्धि गरिएको पनि उहाँले सुनाउनुभयो ।

वन तथा वन्यजन्तु संरक्षणमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएकाले अहिले बाघको संख्या बढेको भन्दै उहाँले यसले पर्यटकको संख्यामा समेत वृद्धि ल्याउन सकिएको बताउनुभयो । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या शीघ्र समाधान गरिने उल्लेख गर्दै उहाँले यस वर्ष ३ सय ९ वटा खानेपानी योजना निर्माण सम्पन्न भएको दाबी गर्नुभयो ।

डिजिटल नेपाल अभियानलाई अघि बढाइएको बताउँदै प्रधानमन्त्री ओलीले यस वर्ष १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न सफल भएको र आउँदाे वर्षहरुमा त्यसलाई अझ विस्तार गरेर लैजाने पनि बताउनुभयो । 

गएको वर्ष मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावबाट निर्वाचित भएपछि फागुन ३ ओली नेतृत्वमा सरकार गठन भएको थियोे ।  

प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्णपाठ

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया