यी पाँच नेपाली नायिका जसले चलचित्रकर्मीलाई नै आफ्नाे जोडी बनाए

 फागुन २, २०७५ बिहिबार १९:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र क्षेत्रमा धेरै यस्ता नायिकाहरु छन्,जसले रिल लाइफमा मात्र नभएर रियल लाइफमै चलचित्रकर्मीलाई आफ्नो जोडी बनाएका छन् । 
आज प्रणय दिवस विशेष अन्तर्गत हामी यी ५ नायिकाका रियल जोडीको चर्चा गर्दैछौँ ।

झरना थापा र सुनिलकुमार थापा

नयिका झरना थापाका रियल जोडी हुन् निर्माता सुनिलकुमार थापा । उनी चलचित्र निर्माताका साथै व्यापारी पनि हुन् । उनीहरुले चलचित्र क्षेत्रमा सहयात्रा गरेको करिब २ दशक पूरा भइसकेको छ ।

उनीहरुले करिब ३ महिनाको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । सुनिल झरनाको हात माग्न जाँदा अभिभावकले उनीहरुको सम्बन्धलाई अस्वीकार गरेपछि उनीहरुले भागी विवाह गरेका थिए ।

नायिका झरना थापालाई चलचित्र निर्देशनका निम्ति अभिप्रेरित पनि उनकै श्रीमान सुनिलकुमार थापाले नै गरेका थिए । झरनाले निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ ले दर्शकको राम्रो साथ पाउन सफल भएको थियो । 

उनकै निर्देशनमा चलचित्र ए मेरो हजुर ३ पनि निर्माण भइरहेको छ । जसमा निर्देशक झरना र निर्माता सुनिलकुमार थापाकै छोरी सुहाना थापाले डेब्यु गरेकी छिन् ।

स्वस्तिमा खड्का र निश्चल बस्नेत

चलचित्र क्षेत्रका अर्का रियल जोडी हुन् स्वस्तिमा खड्का र निश्चल बस्नेत । उनीहरुलाई धेरैले राष्ट्रिय दाजु भाउजुको दर्जा समेत दिएका थिए । निश्चलले निर्देशन गरेको चलचित्र लुट ले त्यो समयमा नेपाली चलचित्र इतिहासकै सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो  । 

निश्चलले निर्देशन, गायन, नृत्य लगायतका विधामा काम गरेका छन् । निश्चल र स्वस्तिमाले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । 
निश्चललाई विवाहका निम्ति घर परिवारबाट दवाव आइरहन्थ्यो । निश्चल र स्वस्तिमाको फेसबुकमा सामान्य कुरा भइरहन्थ्यो । उनिहरुलाई एक अर्काको जोडी बनाउनमा निश्चलकी भतिजीको ठूलो हात रहेको छ । 

उनले दुवै पक्षका कुरा दुवै पक्षमा पुर्याउने गर्थिन् । समान्य कुराकानी, सामान्य भेटघाट हुँदाहँुदै उनीहरुले एक अर्कालाई प्रेमी पे्रमीकाका रुपमा परिणत गरे । 
त्यसको केही समयपछि नै उनीहरुले लगनगाँठो कसेका थिए । 

दिपिका प्रसाईँ र दिवाकर भट्टराई

चलचित्र वृत्तको अर्को रियल जोडी हुन् नायिका दिपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराई ।

उनीहरुले केही समय अघि मात्र कानुनी रुपमा विवाह गरेका थिए । दिपिका प्रसाईँलाई चलचित्रक्षेत्रमा दिवाकरले नै ल्याएका थिए । दिपिकाले चलचित्र ऐश्वर्य बाट चलचित्रक्षेत्रमा डेब्यु गरेकी थिइन् । 

त्यसै समयदेखि नै उनीहरु प्रेम सम्बन्धमा रहेको चर्चा थियो । नयिका दिपका प्रसाईँ अभिनित चलचित्र छक्का पञ्जा ३ ले चलचित्र इतिहासकै सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो ।

यता दिवाकर भट्टराई निर्देशित चलचित्र क्याप्टेन प्रदर्शनको तयारीमा रहेको छ । 

आयुष्मान देशराज जोशी र प्रियंका कार्की

चलचित्रक्षेत्रको अर्को रियल जोडी हो आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको । यो जोडी समय समयमा विभिन्न कारणले चर्चामा आइरहन्छ । 


यो जोडीले पनि टिकाटालो गरिसकेको छ । प्रियंकाले आयुष्मानसँग दोस्रो विवाह गर्न लागेकी हुन् । प्रियंकासँग सम्बन्ध जोडिनुअघि आयुष्मान पनि नायिका परमिता आर एल राणासँगको प्रेममा थिए ।

वर्षा राउत र सञ्जाेग कोइराला

खुल्ला प्रेममा रमाएको अर्को जोडी हो नायिका वर्षा राउत र सञ्जाेग कोइरालाको जोडी ।

उनीहरु करिब ८ वर्ष देखि नै एक अर्काको प्रेममा थिए । उनीहरुले पहिलेदेखि नै संयुक्त रुपमा व्यापार समेत गर्दै आएका छन् । 

यो रियल जोडीले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनीहरुले फाल्गुण २ गते अर्थात आजकै दिन लगनगाँठो कसेका छन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया