सुदूरपश्चिमको १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

 फागुन ३, २०७५ शुक्रबार ११:२८:२ | विमल बिष्ट
unn.prixa.net

डोटी – सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरेको हो । सुदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन् । 

बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर तोकिएको छ । पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि बाजुरा तोकिएको छ । यस्तै स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाउँपालिकाको नाम खप्तड छेदेदह गाउँपालिका राखिएको छ ।

यस्तै, बझाङको काँडा गाँउपालिकाको नाम साइपाल, डोटीको वोगटान गाँउपालिकाको नाम  वोगटान–फुड्सिल र सायल गाँउपालिकाको केन्द्र ओमनगर तोकिएको छ । डडेल्धुराको नवदूर्गा गाँउपालिकाको केन्द्र सल्ला–बान्चौर, बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे राखिएको छ । 

यस्तै, धुलिगडा केन्द्र रहेको दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगडा र लेकम गाँउपालिकाको केन्द्र रातामाटा कायम गरिएको छ । संघीय सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया