मन्त्रालय नजाने मन्त्री फेशन शोमा मस्त

 फागुन ३, २०७५ शुक्रबार १३:३:३६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री रामनरेश रायको  कार्यकक्ष अधिकांश समय सुनसान रहन्छ । गएको वर्ष फागुनमा मन्त्री बनेपछि उहाँ यस एक वर्षको अवधिमा एक साता पनि मन्त्रालय जानुभएको छैन ।

सरकारी आवासबाटै मन्त्रालय चलाउँदै आउनुभएका मन्त्री कुनै हस्ताक्षर गर्नुपुर्दा कर्मचारी फाइल बोकेर आवाससम्मै आउनुपर्ने बाध्यता छ । गएको वैशाखमा मन्त्री रायलाई हृदयघात भएको थियो ।

‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय चौथो तल्लामा रहेको कारण मन्त्रीलाई आवत–जावत गर्न समस्या हुन्छ भन्दै उहाँ मन्त्रालय नआएर आवासमै मन्त्रालयको काम गर्नुहुन्छ । मन्त्री ज्यूको हस्ताक्षर चाहिए उहाँको आवासमै पुग्नु पर्छ । ’ एक कर्मचारीले भने । 

‘तर अहिले मन्त्रीज्यूको स्वास्थ्य अवस्था ठीक छ । तर पनि मन्त्रालयामा आउनु हुन्न ।’ ती कर्मचारीले भने, ‘अन्य कुनै कार्यक्रममा भने मज्जाले जानु हुन्छ । उहाँको आफ्नै मनमौजी छ ।’

मन्त्री राय कार्यकक्षमा नबस्दा नागरिक र कर्मचारीलाईसमेत काम गराउन अप्ठयारो हुने गरेको छ । तर मन्त्रालय नजाने मन्त्री राय बिहीबार ‘भ्यालेन्टाइन डे’ को अवसरमा जनकपुरको एक होटेलमा आयोजित ‘फेशन शो’ कार्यक्रममा दिनभरी बस्नुभयो ।

मन्त्रालयमा बस्न नसक्ने मन्त्रीलाई भने दिनभर फेसन शो कार्यक्रममा घण्टौसम्म बसेको देख्दा त्यहाँ उपस्थित दर्शकहरुसमेत चकित भएका थिए । मन्त्री राय फेशन सो कार्यक्रमको प्रमुख अतिथि बन्नु भएको थियो ।

मन्त्री रायले भने आफू जागिरे कर्मचारी नभहेकोले मन्त्रालयमै बस्नुपर्ने आफ्नो बाध्यता नरहेको प्रतिक्रिया दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया