देशमा विद्यमान समस्याहरुको समाधान अहिले नगरे कहिले गर्ने? : नेकपा अध्यक्ष दाहाल

 फागुन ३, २०७५ शुक्रबार १४:३६:१९ | उज्यालो सहकर्मी

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि देशमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने ?भनी प्रश्न गर्नु भएको छ ।

अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाइको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भनी गम्भीर प्रश्न उठाउनु भएको हो । शुक्रबार काठमाण्डाैमा आयोजित माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलामा बोल्दै उहाँले धेरै लामो संघर्ष, बलिदान र मिहिनेतपछि प्राप्त यो अवसर सदुपयोग गरेर देशमा विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

‘यतिबेला पनि थाँती रहेका देशका समस्याहरु समाधान भएनन् भने कहिले हुन्छ ? भन्ने डरलाग्दो चित्र आफ्नो सामू आउने गरेको’ अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले विकसित मुलुकहरुले समेत पहिलो प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको समस्या समाधानको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उहाँले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका काममा गम्भीर बन्न पनि सरकारलाई सुझाव दिनुभयो ।

त्यस अवसरमा अध्यक्ष दाहालले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन पनि दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया