हिउँले जगाएको आशा असिनाले पुर्‍यो

 फागुन ३, २०७५ शुक्रबार १९:४१:५१ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतको जलजला गाउँपालिकाको उपल्लो भू–भागमा हुरीबताससँगै परेको असिना पानीले आलु खेतीमा क्षति पु¥याएको छ । 

शुक्रबार साँझ ५ बजेको समयमा परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेखफाँटलगायतका वडाहरुको उपल्लो भेगमा आलु खेतीमा क्षति पुगेको हो ।

माघ १३ गते पहिलोपटक परेको हिउँले आलु खेती फस्टाउने आशामा रहेका कृषकहरु त्यसपछि लगातार हिउँ र पछिल्लो पटक असिना समेत परेपछि समस्यामा परेका छन् । ‘पहिलोपटक हिउँ पर्दा आलु उत्पादन बढ्ने आशा थियो’, बनौँका स्थानीय आलु उत्पादक कृषक भिम फकामीले भन्नुभयो, ‘त्यसपछि माघको २४ गते परेको हिउँ र अहिलेको असिनाले आलुलाई क्षति पुर्‍यायो ।’ पर्वतको उच्च भूभागमा आलुको व्यावसायिक खेती गरिँदै आएको छ । आलुको व्यावसायिक खेती गरेका कृषकहरुलाई असिनाका कारण आलु कुहिने चिन्ताले पिरोलेको छ ।  

सुरुमा परेको हिउँले सिञ्चित हुन नपाएको खेतीका लागि राम्रै फाइदा गरे पनि त्यसपछिको हिउँ र असिनाले खेती नराम्रोसँग प्रभावित हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी बताउनुहुन्छ । 

हिमपातकै कारण चिसोले आलुका बिरुवा ओइलिएका र असिनाले झनै समस्या बनाएको बनौका अर्का कृषक चक्रबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार शुक्रबार साँझ ५ बजेदेखि झण्डै १ घण्टा लगातार ४ इञ्च सम्म असिना परेको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया