भूपिनको पहिलो उपन्यास ‘मैदारो’ मा ‘उजेली गाउँ’को कथा

 फागुन ४, २०७५ शनिबार ६:५९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लेखक भूपिनले  पहिलो उपन्यास ‘मैदारो’ लिएर आउने भएका छन् ।  पहिलो उपन्यास ‘मैदारो’ को आवरण सार्वजनिक गर्दै फागुनमै उपन्यास सार्वजनिक हुने जानकारी भूपिनले दिएका छन् ।  

उपन्यासको विषयवस्तु अनुसारको आवरण आर्टिस्ट ‘सचिन यगोल श्रेष्ठ’ले तयार पारेका हुन् । यथार्थवादी सामाजिक विषयवस्तुलाई कल्पना र विम्बात्मकरूपमा प्रस्तुत गरिएको मैदारोलाई बुक–हिल पब्लिकेसनले बजारमा ल्याउन लागेको हो ।

यो उपन्यासले एक आर्टिस्टको प्रेम कथा भन्छ । ऊ ‘अँधेरी गाउँ’मा जन्मिन्छ, जहाँ मानिसले जन्माएको भाषाले नै मानिसलाई छुत–अछुत भनेर वर्गीकरण गरिदिन्छ । जहाँ मानव जीवनलाई सुन्दर र सार्थक बनाउन आविष्कार गरिएको भाषाको चरम दुरुपयोग गरिन्छ र भनिन्छ, ‘जन्मैले म छुत, तँ अछुत । जन्मैले म पवित्र, तँ अपवित्र । जन्मैले म अमृत, तँ विष ।’ मूलतः यो उपन्यास ‘उजेली गाउँहरू’ को खोजी हो ।

‘सानैदेखि नै उपन्यासकार बन्ने सपना देख्थेँ । मैदारो मेरो त्यही सपनाको परिणति हो । कविता र निबन्धभन्दा ढिला जन्मिएको भए पनि यो मेरो स्वप्निल जन्म हो । प्रिय जन्म हो ।’ उपन्यासका बारेमा लेखक भूपिन भन्छन्, ‘विश्वास छ, पाठकहरूले मेरा कविता र निबन्धलाई झैँ यस उपन्यासलाई पनि प्रेम गर्नु हुने छ ।’

३६४ पृष्ठको उपन्यासको मूल्य ४५० राखिएको छ । पुस्तक फागुन अन्तिम साता सार्वजनिक हुने बुक–हिलले जनाएको छ । यसअघि उनका ‘हजार वर्षको निन्द्रा’ र ‘सुप्लाको हवाई जहाज’ कविता संग्रह र ‘चौबीस रिल’ निबन्ध संग्रह प्रकाशित छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया