बिहे गराउन पनि विज्ञापन, मरेकाले पनि पढ्छन् विज्ञापन !

 फागुन ४, २०७५ शनिबार ८:३७:० | मिलन तिमिल्सिना
unn.prixa.net

बोल्नेको पीठो र नमिठो पनि बिक्छ, नबोल्नेको मीठो मसिनो पनि बिक्दैन । त्यसैले नमिठो र ननिको कुरा बिकाउन बोल्नुपर्छ । बोल्ने भनेको कराउने, हल्ला गर्ने अर्थात विज्ञापन गर्ने । हिजोआज विज्ञापनको जमाना छ । 

के–केको मात्रै विज्ञापन छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले त विज्ञापन पनि कति गर्नुभयो कति । सरकारमा हुँदा पनि गर्नुभयो, नहुँदा पनि गर्नुभयो । कहिले पानी जहाजको, कहिले रेलको, कहिले वृद्धभत्ताको । सबैथोकको विज्ञापन गरेर सक्नुभयो । प्रधानमन्त्रीको कुरा छाडौँ, अरु विज्ञापनका चर्चा गरौँ ।

केमा मात्रै छैन विज्ञापन ? हुँदाहुँदा बिहे गराउन पनि विज्ञापन । घर चलाउन सिपालु सुशील कन्यालाई वर चाहियो । राम्रो कमाइ र जायजेथा भएका वरलाई सुुशील कन्या चाहियो । यस्तो विज्ञापनमा उमेर पनि खोल्ने चलन रहेछ, जहाँ ३५ वर्ष वा त्योभन्दा धेरै उमेरकी महिला पनि कन्या हुन्छन्, कुनै बेला ५२ वर्षका शेरबहादुर देउवालाई युवा नेता मानिएजस्तै । वरको उमेर त यस्तोमा ५० भन्दा माथि नै उल्लेख भएको देखिन्छ । राम्रो देखाउन गरिने विज्ञापनमा अरु कुरा बढाइचढाइ भए पनि उमेर त पक्कै घटाएरै लेखिन्छ । 

किन बनाउनुपर्‍यो ठूलो आयोजना ? किन झेल्नुपर्‍यो लोडसेडिङ ? ट्वाक्क चकलेट खाने दिमागमा बत्ती बाल्ने ।

यहाँ ताजा खसीको मासु पाइन्छ । मासुचाहिँ ताजा होइन, खसी पो ताजा । ताजा खसी भनेको भर्खरै जन्मेको । जन्मदा पाठो र बोको होइन, सिधै खसी भएर जन्मेको ? के हो के विज्ञापनको कुरा गरिसाध्ये छैन ।

नेताहरु भन्छन्–हामी देश बनाउँछौँ । उनीहरुले देश बनाउँछु भन्न थालेको धेरै भयो । तर देश बनेन । त्यसैले होला घर, भवन र पुल बनाउने डन्डी र सिमेन्टले अब भन्न थाले – देश हामी बनाउँछौं । त्यसो भए नेता अब किन चाहियो ? डण्डी र सिमेन्टलाई भोट दिने, जिताउने सिंहदरबार र बानेश्वर पठाउने । देश यिनैले बनाउँछन् । 

सिमेन्ट र छडकै कुरा गरौँ । यो देश कसको ? तपाईं हाम्रो । हुन त नेताले हाम्रो भन्लान् । चोर फटाहा पकेटमारा बलात्कारीले पनि हाम्रै भन्लान् । जस–जसले जे भने पनि हामी नेपालीको हो यो देश । तर हैन रे । सुन्नुभएको होला नि जगदम्बाको विज्ञापन – स्वागत छ तपाईंलाई जगदम्बाको देशमा । जगदम्बाको पो देश रहेछ । हाम्रो त केही न केही । 

अब खानेकुराको कुरा गरौँ । छहारी रेष्टुरेन्ट, तीनपाते होटल । विज्ञापनमा देखिन्छ – यहाँ खाना र खाजाको व्यवस्था छ । रेष्टुरेन्टमा खाना र खाजा नभए के हुन्छ त ? मान्छे त्यही खान त रेष्टुरेन्ट जाने हो नि । रेष्टुरेन्टमा खाना र खाजा पाइन्छ भन्ने कुरा पनि भनिरहन पर्छ र ?

अनि लेखिएको हुन्छ – पारिवारिक वातावरण । पारिवारिक वातावरण भनेको के ? दुईजना बुढाबुढी मात्रै भएको पारिवारिक वातावरण अर्कै हुन्छ । हजुरबाहजुरआमा, काकाकाकी, नातिनातिना र पनातिपनातिनी सबै भएको संयुक्त परिवारको वातावरण अर्कै हुन्छ । कस्तो चाहिँ भन्न खोजेको पारिवारिक वातावरण ?

कोक, फेन्टा, चाउचाउ, कुरकुरेको त कुरै नगरौं । लखपति मात्र होइन, करोडपति हुनको लागि यी सबै खानुपर्छ । छोराछोरीलाई शिक्षा, छात्रवृत्ति, घरघडेरी जोड्ने काम सबै यिनै खानेकुराले गर्छ । यी सबैथोकको लोभमा खाँदा खाँदै भएको घर घडेरी सकिएको व्यथा चाहिँ कसलाई थाहा होस् ?

गाउँ जोड्नुपर्ने स्थानीय तहले हो । आईएमईले जोड्छ रे ।

पुरस्कारकै लोभमा भात खान छाडेर चाउचाउ खाइयो । अफर पाइएला भनेर पानी नपिएर कोक फेन्टा पिइयो । छोराछोरीलाई कुरकुरे खुवाइयो । चाउचाउ र कुरकुरेले ज्यान त्यस्तै सिन्के भैसक्दा समेत खान छाडिएन । तर पैसो पनि स्वहा, ज्यान पनि स्वाहा । न घर पर्‍यो, न घडेरी । न छोराछोरीलाई छात्रवृत्ति, न मोबाइलमा रिचार्ज । 

मुटुमा समस्या छ भने कहाँ जाने ? गंगालाल, नर्भिक या अन्त कतै ?तर हैन रे । कमजोर मुटु हुनेका लागि त धारा तेलले काम गर्छ । बलियो मुटु बनाउन धारा तोरीको तेल । यसो हो भने त कसैलाई मुटुको समस्या हुन नपर्ने । कोही पनि कमजोर हुन नपर्ने । धारा तेल खायो, मुटु बलियो बनायो, छाती फुलाएर हिँड्यो । वर्षौंदेखि नेपालीका मुटु केले बलियो बनाएको रहेछ भनेर भनिराख्नु नै परेन । त्यस्तो प्रलयकारी भूकम्प आउँदा पनि धेरैको मुटु नकाँपेको कारण पनि थाहा भैहाल्यो । 

अर्को विज्ञापन हेर्नुहोस् । माउन्टेन ड्यू खायो भने डरलाई नै जितिन्छ । मेन्टोस खाए दिमागमा बत्ती बल्छ । चकलेट खाएर दिमागमा बत्ती बल्ने हो भने बिजुली बत्ती किन चाहियो ? किन बनाउनुपर्‍यो ठूलो आयोजना ? किन झेल्नुपर्‍यो लोडसेडिङ ? ट्वाक्क चकलेट खाने दिमागमा बत्ती बाल्ने ।

दिमागमा बत्ती बाल्ने भनेको पढ्न आउँछ भनेको पनि होला । त्यसो हो भने के को टाउको दुखाई । पहिले माउन्टेन ड्यू खाने डर सबै हराउँछ । त्यसपछि मेन्टोस चकलेट खाने दिमाग बालेर पढ्ने । 

गाउँ जोड्नुपर्ने स्थानीय तहले हो । आईएमईले जोड्छ रे । गाउँ र शहर मात्र हो र ? आईएमईले त देशविदेशलाई जोडेको छ ।

बढाउन, टाइट गर्न, झार्न, फाल्न हामीलाई सम्पर्क गर्नुहोस् रे ।

आईएमई यति छिटो कि उता कमाउन पाएको छैन । यता घरमा पैसा आइसक्छ । विदेशमा मरिमेट्नेको हातमा पुगेको हुँदैन, गाउँमा श्रीमतीले गन्न थालिसक्छिन् । आईएमईले के मात्र गर्दैन । बच्चा जन्माउने बाहेक बच्चा हुर्काउने, लेखाउने पढाउने सबै काम आईएमईले नै गर्छ । मान्छे जन्मेको, एसएलसीमा फेल भएको, विदेश गएको सबै आईएमई गर्न र हिमाल रेमिटबाट पैसा पठाउनका लागि । विदेश किन गएको ? आईएमई गर्न । पैसा किन कमाएको हिमाल रेमिटबाट घरमा पठाउन । 

स्कुल कलेजको विज्ञापन आउँछ–यहाँ अनुभवी शिक्षक र प्राध्यापकबाट पढाइन्छ । अंग्रेजी माध्यम हुन्छ । पुस्तकालय र ल्याबको व्यवस्था । अरे हो स्कुल र कलेजमा शिक्षक, प्राध्यापक, पुस्तकालय, ल्याब, अंग्रेजी माध्यम सबै हुन्छ । त्यही भएर त स्कुल र कलेज । खाली भवन मात्रै हुन्छ भन्ने त कसले सोच्छ हो ? यो सबै किन भनिरहनुपर्‍यो ?

अस्पतालको विज्ञापन हुन्छ : यहाँ बिरामी जाँचिन्छ । त्यति मात्र होइन एक्सरे, दिसापिसाब, रगत जाँचको व्यवस्था छ । अनुभवी डाक्टर र नर्स । अस्पतालमा बिरामी नजाँचेर टिकट जाँचिन्छ त ? खकार दिसा पिसाब रगत नजाँचेर कसले माटो जाँच्छ त अस्पतालमा ? अनि अस्पतालमा अनुभवी डाक्टर र नर्स नभएर  को हुन्छन् त ?

मरेका मान्छेले पनि पत्रिका पढ्दा रैछन् क्यारे हिजोआज ।

हिजोआज त अस्पतालका विज्ञापन पनि कस्ता–कस्ता ? बढाउन, टाइट गर्न, झार्न, फाल्न हामीलाई सम्पर्क गर्नुहोस् रे । जाँडरक्सी, चुरोटको कुलत थाहै नदिई हटाउन । चाउरीपन, चयाँपोतो, डन्डीफोर हटाउन । जाँडरक्सी र चुरोटको कुलत हटाउन सक्ने भए अहिले मान्छेलाई तर्साउन चुरोटको बट्टामा किन डरलाग्दो तस्बिर राख्नुपर्थ्यो । चाउरीपन डाक्टरले हटाउन सके कोही पनि बुढो हुन्नथियो । चायाँपोतो र डन्डीफोर यति सजिलै हटे अनुहारमा बाह्रथरी मल्हम र पाउडर किन दल्नुपर्थ्यो र ?

कपाल झर्न रोकी पुन उमार्न, हाइट बढाउन पनि तिनलाई सम्पर्क गर्नुपर्ने रे । काउली, टमाटर, रायो, मूला हो र कपाल उमारिरहनुपर्ने । तालतालका विज्ञापन !

आफ्नै भविष्य र कामको ठेगान नभएका ज्योतिषहरुले पनि विज्ञापन गरेका हुन्छन् : तपाईंको भूत, वर्तमान, भविष्य, नोकरी, व्यापार, रोजगारी, प्रेम, वास्तु, ग्रहदशा परामर्शको लागि गुरु सत्यनारायण स्वामी तिरुपति । बिचरा स्वामीज्यू आफ्नै वर्तमान र भविष्यको ठेगान नभएर अरुका दानमा बाच्नुपर्ने हालतमा हुनुहुन्छ, तर अरुको भविष्यको हिसाब किताब गर्ने ग्यारेण्टीका विज्ञापन ! आफ्नो वर्तमान थाहा नहुनेले अरुको भविष्य भन्न यसरी विज्ञापन गरी गरी मान्छे भुलाउनु पर्थ्यो त ?

अनि हिजोआज हार्दिक बधाईभन्दा धेरै हार्दिक श्रद्धाञ्जलीको विज्ञापन आउँछ । मरेका मान्छेले पनि पत्रिका पढ्दा रैछन् क्यारे हिजोआज । पत्रिकामा आफ्नो फोटो अनि श्रद्धाञ्जली पढेपछि मरेकाहरु भन्दा हुन् –आहा छोरा नाति आफन्त र शुभचिन्तकले कस्तो भावनामा बगेर लेखेछन् । तिनलाई हार्दिक धन्यवाद !

अन्तिम अपडेट: जेठ ३१, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया