विकास र समृद्धिमा एक हुन प्रतिपक्षलाई प्रचण्डको आग्रह

 फागुन ४, २०७५ शनिबार १२:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभै एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताउनु भएको छ ।

शनिबार भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१ औं हप्ता वाकाथन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको आधुनिक विकास गरेको बताउनुभयो । 

उहाँले विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, सबै वर्ग, धर्म, लिंङ्ग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाई अभियानले दिएको चर्चा गर्दै भन्नुभयो, ‘नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर नेपाली जनतालाई प्राप्त भएको छ ।’ 

यसलाई सबैले आत्मसात गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै उहाँले देश बनाउने जिम्मेवारी सबैको भएकाले सबै यसमा लाग्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नदीहरुको सफाइ अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले वातावरणमा आएको ह्रास न्युनिकरण गर्न सरसफाइ अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
हनुमन्ते सफाइ अभियानका मुख्य नेतृत्वकर्ता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर’ बनाउने उद्धेश्यले आयोजना गरिएको हनुमन्ते सफाइ अभियान अहिले देशकै नमुना अभियानका रुपमा अगाडि बढेको बताउनुभयो । 

बस्नेतले अब जडिबुटीदेखि राधेराधेसम्म मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाले स्वामित्व ग्रहण गर्दै सोलार बत्ती, ट्राफिक आइल्याण्ड, सफाइ र हरियाली बनाउने कार्य सुरु हुन लागेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले स्वामित्व ग्रहण नगर्दा राधेराधेदेखि सूर्यविनायकसम्म लैजाने योजना समस्यामा परेको बताउनुभयो ।

शनिबार बिहान राष्ट्रिय धावक धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि सुरु भएको वाकाथन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय धावक धावक बैकुष्ठ मानन्धरलाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया