बारा घटना रहस्यमय बन्दै: घाइते प्रजिअ र मृतक प्रहरी उपरीक्षकका परिवारद्वारा छानबिनकाे माग

 फागुन ४, २०७५ शनिबार १७:४४:३८ | उज्यालो सहकर्मी

काठमाण्डाै - बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका भाइ नरेश भट्टराईले काठमाण्डाै पत्रकार सम्मेलन गर्दै घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताउनुभएकाे हाे ।

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशष्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चढेको जीप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा यो दुर्घटना गराइ हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानबिनको माग गरेका छन् ।

पत्रकार सम्मेलनमा भाइ नरेश भट्टराइले घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाइएको देखिने र त्यसमाथि एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिवदेखि पूर्वसचिवसम्मका नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु लागेपछि आफूहरुलाई शंका गर्न बाध्य बनाएको  बताउनुभयो ।

उहाँका अनुसार घटना घटेको तीन साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन । घटनामा प्रहरी उपरीक्षक पोखरेलको घटनास्थलमै निधन भएको थियो भने प्रजिअ भट्टराई अहिले शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचारत हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया