विदेशमा रहेका श्रीमानलाई दीपाको ‘सरप्राइज’ !(भिडियाेसहित)

श्रीमती उद्यमी बनेपछि विदेशबाट फर्किए गणेश

 फागुन ५, २०७५ आइतबार १२:४५:३१ | सन्जिता देवकोटा

इलाम – यूएईमा काम गर्दै गरेका गणेश गुरुङले एकदिन इलाम घरमा भएकी श्रीमती दीपा गुरुङको नम्बरमा फोन गर्नुभयो ।

फोन छोरीले उठाइन् । 

‘ममी खोइ त ?,’ गणेशले सोध्नुभयो । 

भिडियाे हेर्नुहाेस्

‘ममी त चकलेट बनाउँदै हुनुहुन्छ,’ छोरीले भनिन् । छोरीको कुरा सुन्दा गणेश झसँग हुनुभयो । आफूलाई सोध्दै नसोधी काम गरेकोमा झनक्क रीस पनि उठ्यो । 

तर शान्त हुँदै छोरीलाई सोध्नुभयो – ‘ममीले चकलेट बनाउन थालेको कति भयो ?’

दीपाले चकलेट अथवा ललिपप उद्योग सञ्चालन गरेको ६ महिना भन्दा धेरै भैसकेको थियो । छोरीले भनेपछि मात्र गणेशलाई यो कुरा थाहा भयो । यो उहाँलाई श्रीमतीले दिएको ठूलो सरप्राइज थियो ।

उद्योग सञ्चालन गरेको यतिका समय हुँदा पनि श्रीमतीले किन भनिनन्, कसरी कामको सुरुवात गरिन् होला, आफूसँग सल्लाह नगर्नुको कारण के होला भन्ने खुल्दुलीले गणेशको मन भरियो । 

उद्योग खोल्नु, कमाउनु राम्रो कुरा हो । तर त्योबेला गणेशलाई श्रीमतीको कामले खुशी भन्दा बढी दुःखी बनायो । फोनमै झगडा गर्नुभयो श्रीमतीसँग । 

‘अब कहिल्यै केही कुरा नढाँट्ने मान्छेले उद्योग खोल्दा पनि किन मलाई भनिनन् भनेर कम्ता रीस उठेन, तर पछि उनले कुरा बुझाएपछि भने म खुशी भैहालें,’ श्रीमती दीपालाई हेर्दै हाँस्नुभयो गणेश ।

त्यो बेला सल्लाहै नगरी श्रीमतीले उद्योग सञ्चालन गरेको कुराले चित्त दुःखे पनि अहिले गणेशलाई श्रीमतीको आँट र मेहनतमा गर्व लाग्छ । त्यसो त १८ वर्षदेखि विदेशमा पसिना बगाइरहेका श्रीमानलाई स्वदेशमा फर्काउने दीपाका संघर्ष र आँट पनि गर्व गर्न लायक छन् । 

हिजोआज श्रीमान् परदेश लागेपछि श्रीमती शहरतिर लाग्ने र विदेशको कमाइ शहरमै सिध्याउनेहरुको ‘ग्राफ’ बढ्दो छ । तर दीपाले श्रीमानलाई थाहै नदिई चालेको कदम नै उहाँहरुको जीवनमा सही सावित भयो । त्यही कदम नै गणेश र दीपाको मिलन र खुशीको आधार बन्यो । 

दीपाको संघर्ष र सपना

इलाम बजारबाट झण्डै १० मिनेट ओरालो झरेपछि पुगिन्छ दीपाको ललिपप उद्योग । तीनतले घर । हरियो रंग लगाइएको छ । झट्ट हेर्दा बस्नका लागि मात्र प्रयोग गरिएको जस्तो देखिन्छ ।

तर यही घरको तेस्रो तलामा छ, दीपाको ललिपप उद्योग । उद्योग देखाउँदै गर्दा दीपाले भन्नुभयो ‘यो उद्योगले नै मेरा सपनाहरु पूरा गरेको छ ।’ हरेक मानिसमा सपना हुन्छन् । तर सबैका सपना बिपना बनेर आउँदैनन् । तर दीपाले देखेका सपना बिपनामा परिणत भएको छ । 

परदेशमा पसिना बगाइरहेका श्रीमानलाई स्वदेश फर्काउने र छोराछोरीलाई राम्रोसँग पढाउने दुई सपना देख्नुभएको थियो दीपाले । ती दुई सपना पूरा गर्‍यो उहाँको आँट र संघर्षले ।

 तर श्रीमान् परदेशमा छोराछोरी स्कुलमा । एक्लै संघर्ष गर्न कहाँ सजिलो थियो र । 

२०५२ सालदेखि नै हो गणेश विदेश बस्न थालेको । गणेश कतार लाग्दा छोरी गर्भमा थिइन् । १४ वर्षको उमेरमै भागी बिहे गर्दा भविष्यका चिन्ता कहाँ थियो र ? तर एकबाट दुई ज्यान भएपछि सधै सहज नहुँदो रहेछ भन्नुहुन्छ दीपा । 

दुई चारवर्षका लागि भनेर कतार जानुभएको थियो गणेश त्यो बेलामा । गणेश कतार जाँदा दीपा गाउँ (पाँचथर)मै बस्नुभयो । तर गणेशको कमाइ राम्रो भएन । कतारमा चार वर्ष बिताएर यूएई जानुभयो । कमाइ राम्रो नभएकै कारण उहाँको विदेश बसाइ लम्बिंदै गयो । 

श्रीमान् विदेशमा, आफू गाउँमा । गाउँमा भनेजस्तो स्कुल थिएन । उहाँलाई जसरी पनि छोराछोरीलाई राम्रो स्कुल पढाउनु थियो । उपाय निस्कियो इलाममा होस्टल राखेर पढाउने । 

छोराछोरी होस्टल त राख्नुभयो, तर एक दुई वर्ष पछि मन मानेन । ‘बालबच्चा गाउँमै राख्न पनि भएन, आफूलाई बालबच्चा पढाउनु थियो, त्यसका लागि म जे पनि गर्न पनि तयार थिएँ,’ दीपा भन्नुहुन्छ, ‘सधैं बच्चालाई होस्टल राख्दा स्याहार भएन भनेर म इलाम झरेको हुँ ।’ २०६२ सालमा दीपा पाँचथरबाट इलाम झर्नुभयो । सहर आएपछि चुनौती थपिए ।

सानै र सजिलै होस्, तर आफ्नाको साथ बिना हरेक पल असहज नै हुन्छ । यस्तै भयो दीपालाई पनि । काम नगरी श्रीमान्को कमाइमा मात्र रम्न उहाँको मन मान्दैन थियो । आफूले पनि काम गरौं, साना बच्चा भएकी आमालाई काम पाउन र गर्न सजिलो भएन । 

‘उमेर पनि सानो नै थियो, २०, २१ वर्षको त थिएँ, के गर्ने, कसो गर्ने मन भतभती पोल्थ्यो, कति रात त आँखा चिम्म पनि गरिनँ होला मैले,’ दीपाले ती दिन सम्झनुभयो। 

इलाम बजारमा भाडामा बसेको भए पनि उहाँले खसी र कुखुरा पाल्नुभयो । अनि सहकारीमा पैसा उठाउने काम पनि थाल्नुभयो । बिहान खसी कुखुरालाई दानापानी दिएर छोराछोरी स्कुल पठाउनुहुन्थ्यो । दिउँसो सहकारीको काम भ्याउनुहुन्थ्यो । 

समय सधै‍ उस्तै हुँदैन । छोराछोरी बिरामी भइदिए भने उहाँलाई अप्ठ्यारो पथ्र्यो । कति काममा त लोग्नेमानिसकै सहयोग पनि चाहिने हुन्थ्यो । त्यो बेलामा सबै कुरा एक्लै गर्दा झन दीपालाई श्रीमानलाई स्वदेश फर्काउने सपनाले पोल्थ्यो । 

बालबच्चाको हेरचाह गरेर काम पनि भ्याउन मुश्किल पथ्र्यो दीपालाई । हुन त उहाँलाई बालबच्चा मात्रै हेरेर काम नगरेको भए पनि हुन्थ्यो । गणेशले कमाएर पठाइहाल्नुहुन्थ्यो ।

तर दीपालाई लाग्थ्यो, आजको क्षणिक खुशी आफ्ना सपना र भविष्यका खुशीहरुको अवरोध बन्न सक्छन् । ‘त्यो बेला नै बुढाको कमाइमा रमाइलो गरेको भए त आजको दिन किन आउँथ्यो होला र,’ हाँस्दै भन्नुभयो दीपाले । आज गरेको कर्म भोलिको पर्खाल हुनुहुँदैन भन्ने थाहा थियो उहाँलाई । 

घरमा कुखुरा र खसी पालेर सहकारीको पनि काम भ्याउन मुुश्किल भएपछि उहाँले व्यवसायिक रुपमा कुखुरा मात्र पाल्न थाल्नुभयो । कुखुराबाट भने उहाँलाई घाटा भयो । कहिले भाउ नहुने त कहिले कुखुरा मर्ने जस्ता असहज परिस्थितीहरु आइपरे । घाटा भएपछि कुखुरा पाल्न छाडिदिनुभयो । 

दीपालाई अहिले जीवनमा भोगेका ती घाटासँग पछुतो छैन । अघि बढ्दा मिलेका यस्तै घाटा र असफलता नै उहाँको आजको जग हो । 

ललिपप बनाउने कामले उद्यमी बन्न सघायो

कुखुरापालनमा घाटा भएपछि दीपाले ललिपप उद्योगमा काम गर्नुभयो एक वर्षसम्म । अरुको उद्योगमा काम गर्दा उहाँले ललिपप बनाउनेदेखि बजार व्यवस्थापनसम्मको तरिका बुझ्नुभयो । 

ललिपप बनाउने तरिका र बजार बुझेपछि दीपाले आफैंले उद्योग खोल्ने तयारी गर्नुभयो । तर कुखुरापालन व्यवसायमा घाटा भएकाले यो पालि नयाँ काम थाल्न उहाँलाई श्रीमानसँग सोध्ने आँट आएन ।  

‘कुखुरापालनको काम गर्दा घाटा भएको थियो, अब फेरि नयाँ काम थाल्छु भन्दा बुढोले मान्नुहुन्न होला जस्तो लाग्यो, अनि राम्रो भयो भने उहाँलाई भन्छु नत्र भन्दिनँ भनेर थाहै नदिई मैले उद्योग खोलें,’ दीपाले श्रीमानलाई थाहै नदिइ उद्योग सुरु गर्नुको कारण खोल्नुभयो । 

कुनै पनि अप्ठ्यारोलाई सधैं सम्झिएर बस्न हुँदैन भन्ने लाग्छ दीपालाई । काम नगरी बस्न मनले मान्दैन थियो । नयाँ काम गर्छु भन्दा कुखुरापालन गर्दा खेपेका अप्ठ्यारोले अघिको बाटो रोकिने हो कि भन्ने डर थियो । त्यसैले ललिपप उद्योग खोल्दा श्रीमानसँग सल्लाह गर्न उहाँलाई आँट आएन ।

२०६९ सालदेखि हो उहाँले ग्रिनसिटी ललिपप इलामको सुरुवात गरेको । उद्योग खोल्न झण्डै पाँच लाख रुपैयाँ लगानी गर्नुभयो । ६ जना कामदार राख्नुभयो । गणेशले उद्योगकोबारेमा थाहा पाउँदा उहाँको कामले लय लिइसकेको थियो । 

‘मलाई चाहिँ एक वर्ष जति भएपछि अब यतै आउनुहोस्, यहाँ मैले यस्तो काम गरेको छु भनेर बोलाउन मन थियो, तर केटाकेटीले भनिहालेछन्,’ श्रीमानलाई ‘सरप्राइज’ दिन खोजेको योजनामा पानी परेको दिन सम्झँदै दीपाले भन्नुभयो, ‘आम्मै लगानी पहिलेझैँ डुबाउने होला भनेर कम्ता गाली गर्नुभएन नि त्यो बेला त ।’ दीपा र गणेश ६ वर्षअघिका ती दिन सम्झिएर मज्जैले हाँसे । 

उद्योगले श्रीमानलाई विदेशबाट फर्कायो

दीपाले ललिपप उद्योग सञ्चालन गर्न थालेपछि जीवनमा धेरै कुरा परिवर्तन भयो । छोराछोरीको हेरचाह गर्न समय दिन भ्याउनुभयो । 

आम्दानी हुँदै गएपछि बालबच्चालाई आफ्नो सोच अनुसारकै शिक्षा दिन सक्नुभयो । सबैभन्दा महत्वपूर्ण कुरा त १८ वर्षदेखि विदेशमा श्रम गरिरहेका श्रीमानलाई सधैंका लागि स्वदेश फर्काउन सक्नुभयो ।  

‘आफू इमान्दार भएर काम गर्ने हो भने असम्भव केही छैन, नसोचेका कुरा पनि गर्न सकिन्छ, श्रीमान् विदेशमा छन् भन्दैमा उसको मात्र भर पर्नु भएन, मैले पनि त्यसै गरेको भए आजका दिनमा पनि उहाँ विदेश मै हुनुहुन्थ्यो,’ दीपा भन्नुहुन्छ । 

परिवारसँग छुट्टिएर जमाएको लाखभन्दा परिवारको काख नै प्यारो हुन्छ भन्नुहुन्छ दीपा । बालबच्चाको राम्रो शिक्षाका लागि उहाँले गणेशलाई परदेश पठाउनुभएको थियो । बाध्यतामा परे पनि उहाँलाई परदेश कहिल्यै बेस लागेन । उहाँको आफ्नो मेहनतमा सफल हुनु भयो पनि । 

श्रीमान्ले कमाएकै छन् भनेर कहिले हात बाँधेर बस्न हुँदैन भन्नुहुन्छ, उहाँ । ‘हिजोआज त परदेशीका श्रीमतीलाई समाजले अर्कै नजरले हेर्छ, तर विदेशमा श्रीमान् हुनेले केही उदाहरणीय काम गरेर समाजले हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्छ, ।’ दीपामा यो आत्मविश्वास छ । 

उद्योगमा महिलालाई मात्र रोजगारी, गर्छन् पुरुषले भन्दा बढी काम 

दीपाले उद्योगमा ३३ जना महिलालाई रोजगारी दिनुभएको छ । कतिका श्रीमान् विदेशमा छन् त कतिका श्रीमान् रोजगारीका लागि शहर पसेका छन् । उहाँले महिलालाई मात्र उद्योगमा काम लगाउनुको कारण पनि परदेशीका श्रीमतीले आक्षेप सहन नपरोस् भनेर नै हो । 

‘पहिला केटा र केटी दुवैलाई काममा लगाएको थिएँ, तर त्यसो हुँदा केटाहरुले काम गर्ने ठाउँमा श्रीमती काम गर्छिन् भन्ने जस्तो हुँदोरहेछ उहाँहरुको श्रीमान्लाई,’ महिलालाई मात्र काममा लगाउनुको कारण सोध्दा दीपाले भन्नुभयो, ‘महिलाले सञ्चालन गरेको उद्योगमा महिलाले मात्र काम गर्ने भएपछि श्रीमानहरुले शंका पनि नगर्ने भए, काम पनि पुरुषले गर्नेभन्दा बढी नै गर्छन् महिलाहरुले ।’ दीपाको उद्योगमा काम गर्ने महिलाका श्रीमान् श्रीमतीबीच विश्वास बढेको छ । 

विदेशबाट घर आएका बेला महिलाहरुले उद्योगमा श्रीमानलाई पनि लिएर आउँछन् । यो नियम दीपाले नै बनाउनुभएको हो । आफ्नो श्रीमतीले काम गर्ने वातावरण हेरे भने शंका कम हुने र पारिवारिक मिलन राम्रो हुने उहाँको विश्वास छ । 

‘आफ्नो श्रीमतीले कस्तो काम गर्छन् भनेर देखेपछि श्रीमानहरु विदेशमा ढुक्क भएर काम गर्न पाउँछन्’, दीपा भन्नुहुन्छ,’ ‘मलाई त मेरो काम गर्ने दिदीबहिनी सबैले आफ्ना श्रीमानलाई स्वदेश फर्काउन सकून् भन्ने लाग्छ ।

ललिपप उद्योग राम्रो हुँदै गएपछि एक वर्षअघि २०७४ माघमा उहाँका श्रीमान गणेश यूएईबाट उद्योग नै सम्हाल्नेगरी घर फर्किनु भएको छ । दीपाका लागि उद्योगबाट मिलेको सबैभन्दा ठूलो कुरा यही हो । 

दीपाको यो मेहनत र आँटबाट उत्तिकै खुशी हुनुहुन्छ गणेश पनि । ‘म भए त एक्लै यो सबै गर्न सक्दैन थिइनँ पनि, अहिले उनीसँगै भएर काम गर्दा त बेलोबलामा अत्यास लाग्छ, उनले एक्लैले यो सबै गरिन्, मलाई गर्व लाग्छ उनीप्रति,’ गणेश भन्नुहुन्छ । 

गणेश अहिले दीपालाई मार्केटिङको काममा सघाइरहनुभएको छ । मन मिलेपछि अरु त सबै कुरा मिल्दै जान्छ । मिलाउँदै जानु पर्छ । दीपालाई लाग्छ, श्रीमान् श्रीमतीको सबैभन्दा पहिले त मन मिल्नु पर्छ । एकअर्कामा इमान्दार हुनुपर्छ । 

दीपालाई श्रीमान् फर्किएपछि व्यवसाय अघि बढाउन सजिलो भएको छ । श्रीमान् विदेशमा छँदा हरेक कुरा एक्दै गर्नु पथ्र्यो दीपालाई ।

‘उहाँ आएपछि पहिलो कुरा त मन शान्त भएको छ, उहाँ विदेशमा छँदा कहिले उहाँले विदेशमा कमाएको जत्तिकै यहाँ कमाई हुने बतावरण बनाउनु र फर्काउनु भन्ने लाग्थ्यो, उहाँ आएपछि सहज छ,’ दीपाले श्रीमान् फर्किएपछि भैरहेको सजिलो सुनाउनुभयो । 

अहिले मिलेको सफलताले दीपालाई पुरानो समयको याद दिलाउँछ । त्योभन्दा पछि आउने दिनका लागि सम्भावनाहरुको बाटो पनि देखाउँछ ।

२०, २५ किलो खुवाबाट सुरु भएको ललिपप उद्योगमा अहिले दिनकै २ सय ४० किलोसम्म खुवाका सामान बनाउनुहुन्छ । उहाँका उद्योगमा पाँच प्रकारका ललिपप र बम्बइसन उत्पादन हुन्छ । त्यसका लागि दैनिक १२ सय लिटर दुध चाहिन्छ । 

समयसँगै सबै कुरा बढेको छ । उत्पादन, आम्दानी, कर्मचारी बढ्दै गएका छन् । उद्योगबाट मासिक १३ लाख रुपैयाँसम्म हुन्छ कमाई । तर यो खर्च नकटाइ हुने आम्दानी हो । 

दीपा र गणेशको उद्योगलाई अझै बढाउँदै जाने योजना छ । ‘नयाँ उत्पादन के हुन्छ, भनेर खोजी गरिरहेका छौं, आज सफलता त मिलेको छ तर अझै यसलाई कसरी बढाउने भनेर सोचिरहेका छौं,’ दीपा आफ्नो योजना सुनाउनुहुन्छ । 

दीपा र गणेश दुवै ४१ वर्षका भए । ४१ वसन्तमा हिँड्दै गर्दा पाँचथरदेखि इलाम झरेर आफूले चाहेजस्तै रंग आफ्नो जीवनमा भर्नु चानचुने कुरा होइन । यो खुशी र सफलता दीपाले गरेको मेहनत र आँटका परिणाम हुन् ।

गरे के हुन्न र भन्ने गतिलो उदाहरण बनेकी दीपाले छुट्टिने बेला भन्नुभयो, ‘जे काम गरे पनि त्यसलाई निरन्तरता दिनु पर्छ, मनमा आँट र सग्ला हात हुनेले पाखुरा जहाँ पनि बजार्न सक्छ ।’

अन्तिम अपडेट: बैशाख ३०, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया