दुर्घटना न्यूनीकरण गर्न साइकलमा ‘रिफ्लेक्टिभ’ स्टिकर

 फागुन ५, २०७५ आइतबार १७:४७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - पर्साको ग्रामीण क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न साइकलको पछाडिको भागमा अँध्यारोमा टल्किने (रिफ्लेक्टिभ) स्टिकर टाँस्न सुरु गरिएको छ ।  

ग्रामीण क्षेत्रमा बढी साइकल चल्ने र बाटो अध्याँरो हुँदा दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक प्रहरी कार्यालय पर्साले साइकलको पछाडि अँध्यारोमा टल्किने (रिफ्लेक्टिभ) स्टिकर टाँस्न सुरु गरेको हो ।  

पर्साको पोखरीया तथा विन्दवासिनी हुँदै दिनहुँ पाँच हजारभन्दा बढी व्यक्ति साइकल चलाउँदै कामका लागि बारा–पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगसम्म जाने गर्छन् ।  

बिहान झिसमिसेमै र साँझमा बढी साइकल ओहोर दोहोर गर्ने र यही बेला ठूला सवारी साधनले ठक्कर दिने गर्दा दुर्घटना बढेको भन्दै अहिले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न स्टिकर टाँस्न थालेको हो ।  

साँझको समयमा सडक बत्तिको अभाव र सडक पनि साँघुरो हुँदा दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्न यस्तो अभियान चालिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो । 

स्टिकर टाँसेपछि दुर्घटनामा केही कमी आउने विश्वास लिएको सिंहले बताउनुभयो । स्टिकर टाँस्नुका साथै साइकल यात्री र ठूला सवारी चालकलाई ट्राफिक नियमबारे सचेत पनि गराइने गरेकाे उहाँले जानकारी दिनुभयो ।  

यसअघि ट्राफिक प्रहरीले बजार क्षेत्रमा पनि दुर्घटना न्यूनीकरणका लागि ठूला तथा साना सवारीमा अँध्यारोमा टल्किने (रिफ्लेक्टिभ) स्टिकर टाँस्ने अभियान चलाएको थियो । बजार क्षेत्रमा अभियान प्रभावकारी देखिएकाले ग्रामीण क्षेत्रमा पनि यो अभियान अगाडि बढाइएको ट्राफिक प्रमुख सिंहले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया