‘गोपी’ निर्माण युनिटद्वारा ‘कविता प्रतियोगिता’का विजेताहरू पुरस्कृत

 फागुन ६, २०७५ सोमबार १३:२१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माघ १८ गतेबाट प्रदर्शन भएको सिनेमा ‘गोपी’ले आयोजना गरेको ‘कविता प्रतियोगिता’का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।

सिनेमाका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले विजेताहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा सहभागीहरूले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका थिए । प्रतियोगितामा क्षितिज समर्पणको कविता‘अस्थिपञ्जर हुनुअघि’प्रथम, निरज दाहालको ‘स्वावलम्बी झण्डा’द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’कविता तृतीय भएको थियो । 

प्रथम, द्वितीय र तृतीय भएका कविहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गरेका हुन् । आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।

उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको छ । मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयाँलको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनूँ मै पनि’ ले सान्त्वना पुरस्कार पाएका हुन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया