पुलवामा हमलाका शहीद परिवारलाई अक्षकुमारले पाँच कराेड रुपैयाँ सहयाेग गर्ने

 फागुन ६, २०७५ सोमबार १४:१०:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको जम्मू कश्मीरको पुलवामामा अर्धशैन्य बल सीआरपीएफका जवानमाथि भएको आत्मघाती आतंकवादी हमलामा ४० जनाभन्दा बढीको ज्यान गएपछि भारतीय नागरिकसँगै बलिउड कलाकारहरु पनि आक्रोशित भएका छन् ।

अभिनेता अक्षय कुमारले त्यस हमलालाई निकै नै कायरतापूर्ण  काम भएको बताएका छन । अहिले सार्वजनिक खबरहरुका अनुसार अभिनेता अक्षय कुमारले ज्यान गुमाएका सैनिक जवानका परिवारहरुलाई सहयोगस्वरुप पाँच करोड रुपैयाँ दिने बताएका छन् ।

यसअघि अभिनेता अमिताभ बच्चनले पनि आतंकवादी हमलापछि शहीद भएका हरेक सैनिक परिवारलाई पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् । साथै अभिनेता सलमान खानको एनजीओ बिइङ्ग ह्यूमन फाउण्डेशन पनि शहीद जवानका परिवारलाई सहयोग गर्न अघि सरेको छ । 

अभिनेता अक्षय कुमारले आफूले आर्थिक सहयोग गर्ने घोषणा गर्दै सबै भारतीय नागरिकलाई सहयोग गर्न प्रोत्साहित गरेका छन् । उनले आफ्नो ट्विटर अकाउन्टमा ट्वीट गदै भनेका छन्, ‘पुलवामा हमला हामी कहिल्यै भुल्न सक्नेछैनौँ र भुल्न पनि दिनेछैनौं ।

हामी अहिले आक्रोशित छौँ र यो समय केही गरेर देखाउने बेला हो । यसविरुद्ध कारबाही गरिनुपर्छ । पुलवामा शहीद भएकाहरुलाई दान दियौँ । उनीहरुको सम्मान गर्ने र उनीहरुलाई सहयोग गर्ने सही समय यही हो ।’   

अभिनेता अक्षय कुमार यतिबेला फिल्म ‘गुड न्युज’ को छायांकन गरिरहेका छन् । यस फिल्ममा उनीसँगै अभिनेत्री करिना कपूर खानको पनि भूमिका रहनेछ । साथै उनी अभिनित फिल्म ‘हाउसफूल–४’ र ‘केसरी’ यसैवर्ष प्रदर्शन हुदैछन् ।  


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया