माथिल्लो कर्णाली जलविद्युत आयाेजना :  लगानी जुटाउन भारतीय कम्पनी जीएमआरले माग्याे अझै एक वर्ष

 फागुन ६, २०७५ सोमबार १८:५१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनीले जीएमआरले लगानी जुटाउन फेरि पनि म्याद थपको प्रस्ताव गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकको प्रश्नोत्तर शत्रमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जीएमआरले आफूले उत्पादन गरेको बिजुली बंगलादेशमा बिक्री गर्न दुई महिनाभित्र विद्युत खरिद सम्झौता हुने विश्वास दिलाउँदै वित्तीय व्यवस्थापनका लागि एक वर्षको समय माग गरेको बताउनुभयो ।

जीएमआरले लगानी जुटाउनका लागि लगानी बोर्डमा म्याद थपको निवेदन दिएको छ ।  जीएमआर र बोर्डबीच २०७१ सालको असोज ३ गते माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने गरी परियोजना विकास सम्झौता (पीडीए) भएको थियो । 

दुई वर्षे म्यादभित्र लगानीको जोहो गर्न नसकेपछि बोर्डले एक वर्ष म्याद थपेको थियो । पटक-पटक थपिएको म्याद गुजार्दै आएको जीएमआरको गएकाे असोज महिनामा म्याद सकिएको छ । मन्त्री पुनले जीएमआरको तर्फबाट भारतीय सरकारी विद्युत कम्पनी एनबीबीएन र भारतीय उर्जामन्त्रीले विश्वास दिलाएको पनि जानकारी दिनुभयो ।

एनबीबीएनसँग कुरा गर्दा बंगलादेश, एनबीबीएन र जीएमआरले आउँदाे मार्च २९ र ३० मा हुने नेपाल लगानी सम्मेलनमा बंगलादेशसँग विद्युत खरिद सम्झौता गर्ने तयारी समेत गरेको जानकारी पनि उहाँले दिन’भयो ।

उर्जामन्त्री पुनले आयोजना सम्पन्न गर्न कार्ययोजना सहित अगाडि बढाएको पनि जानकारी दिनुभएको छ । सरकारले २७ प्रतिशत शेयर तथा १२ प्रतिशत बिजुली निःशुल्क पाउने आयोजना निर्माणमा १ खर्ब १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया