९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ललितपुरको गोदावरीबाट एक जना पक्राउ

 फागुन ६, २०७५ सोमबार २०:३५:२५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ । 

बाबुले रक्सीको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

‘हामी अनुसन्धानका क्रममा छौँ’, मिश्रले भन्नुभयो, ‘पीडकलाई अनुसन्धानका लागि सात दिनको अदालतले म्याद थप गरेको छ ।’ बडिखेल स्वास्थ्य चौकीको निर्देशनानुसार पीडित बालिकालाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको बताइएको छ । 

घरका कोही नभएको मौका छोपी बाबुले दुई दिनअगाडि छोरी बलात्कार गरेको स्वास्थ्य चौकीकी अनमी प्रमिला चालिसेले बताउनुभयो । ‘दुई दिनसम्म अत्यन्त रक्तस्राव भएको गाउँलेले तेस्रो दिन थाहा पाई उपचारका लागि स्वास्थ्यचौकी ल्याए’, उहाँले भन्नुभयो, ‘पीडितको अवस्थादेखि हामीले तत्काल उनलाई पाटन रिफर गर्‍यौँ ।’ 

बालिका बाबुबाटै बलात्कृत भएको हो या हैन भन्ने ठोस प्रमाण सङ्कलनका लागि उनको डीएनए परीक्षण गर्न प्रहरीले महाराजगञ्ज अस्पताल पठाएको अस्पतालको प्रहरी कक्षमा कार्यरत मिलन राना भाटले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया