संसदमा संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाइ सुरु

 फागुन ७, २०७५ मंगलबार २०:१६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदीय सुनुवाइ विशेष समितिले विभिन्न पाँच वटा संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाइ सुरु गरेको छ ।

समितिले मंगलबारबाट संवैधानिक परिषदले सिफारिस गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष डा. शान्तराज सुवेदीको सुनुवाइ गरेको हो ।

सुनुवाइको क्रममा दुवै आयोगका प्रस्तावित अध्यक्षद्धय पौडेल र सुवेदीले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाको वितरण समितिमा पेश गर्दैै संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष पौडेलले तीनवटै तहको वित्तिय अन्तरसम्बन्धलाई सहज बनाउन सहजकर्ता, सहअस्तित्व र समन्वय गर्ने संविधानले निर्दिष्ट गरेको जिम्मेवारी अनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले तीनै तहको सरकारबीचको वित्तीय अन्तरसम्बन्धलाई सहजीकरण गर्न आफूले आयोगमार्फत् सक्दो पहल गर्ने योजना पनि अघि सार्नुभयो ।

त्यसैगरी समितिको बैठकमा आफ्नो योग्यता, अनुभव र कार्ययोजना पेश गर्दै राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष सुवेदीले पछाडि परेका समुदाय र भूगोललाई अघि बढाउने गरी आयोगको कामलाई अघि बढाउने योजना सुनाउनुभयो । 

उहाँले पछाडि परेका समुदायलाई अघि बढाउन आर्थिक क्षेत्रको विकासमा जोड दिन आवश्यक योजना बनाउन आफूसँग अर्थ मन्त्रालय सम्हालेको अनुभव भएकाले उपयोगी हुने धारणा पनि समितिमा राख्नुभयो ।

समितिले मधेशी आयोगका अध्यक्ष प्रस्तावित डा. विजयकुमार दत्त र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाइ भने आगामी बिहीबार अर्थात ९ गते बस्ने बैठकमा गर्ने निर्णय पनि गरेको छ ।

समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीमाथि परेको नागरिकतासम्बन्धी उजुरी भने छानबिन गरेर आवश्यक निर्णय लिने पनि स्पष्ट पारेको छ । गएकाे माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले विभिन्न पाँच वटा संवैधानिक आयोगका पदाधिकारी सिफारिस गरेको थियो । 

तर त्याे बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता सहभागी नभइ गरिएको निर्णय भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले भने सुनुवाइ प्रक्रिया नै बहिष्कार गरेका छन् ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया