सरकारले ‘निराश’ बनायो : बाबुराम भट्टराई

 फागुन ८, २०७५ बुधबार १९:१२:४ | राजु लामिछाने
unn.prixa.net

रुकमु पश्चिम – पूृर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले दुई तिहाइको वर्तमान सरकारबाट गरिएको विकास र समृद्धिको अपेक्षा निराशामा बदलिएको बताउनुभएको छ । 

नयाँ शक्ति नेपालले सुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानको क्रममा रुकुम पश्चिम पुग्नुभएका डा.भट्टराईले राजनीतिको फोहोरीकरण र भ्रष्टिकरणलाई शुद्ध नबनाएसम्म देशको समृद्धि हुन नसक्ने औँल्याउनुभयो । 

सरकारले सुशासन कायम गर्न नसकेको र पहिलेको भन्दा भ्रष्टाचार र अनियमितता बढेको भन्दै उहाँले विकासको राष्ट्रिय एजेण्डाको आवश्यकता भएको बताउनुभयो । ‘सरकारले राम्रो गरोस् भन्ने सदिक्षा हो’ उहाँले भन्नुभयो, ‘तर कहिँ कतैबाट पनि सरकारको सूचकांक सकारात्मक छैन ।’ 

वर्तमान सरकारको एक वर्षको अवधिमा परनिर्भरता झन् बढेको भन्दै उहाँले स्वदेशमा कुनै पनि ठूला परियोजना ल्याउन र वैदेशिक सहायता भित्र्याउन सरकारले नसकेको जनाउनुभयो । 

उहाँले सरकारले एनसेल प्रकरण हल गर्न नसकेको, वाईडबडी जहाज खरिदको काण्ड झन् गम्भीर भएको, बुढिगण्डकी प्रकरणमा कमिशनको खेल भएको, ३३ किलो सुनकाण्डमा मौन रहेको, निर्मला पन्तको प्रकरणमा उच्चपदस्थ व्यक्ति मुछिएको आशंका हुँदा पनि सरकारले केही गर्न नसकेको भन्दै दुई तिहाइको शक्तिशाली सरकारबाट सुशासन र समृद्धि पाउन नसकेको उल्लेख गर्नुभयो । 

पार्टीले सुरुवात गरेको जनसंवाद यात्राको क्रममा भट्टाराईले राजनीतिक परिवर्तन भएता पनि सामाजिक र आर्थिक परिवर्तनको आफूले अनुभुति नपाएको गुनासाे गर्नुभयाे । ‘जनताको जीवनस्तर उस्तै छ’, उहाँले भन्नुभयो, ‘जनयुद्ध सुरु गर्दाका ४० सुत्रीय मागमध्ये राजनीतिक माग पूरा भएको छ, आर्थिक माग पूरा हुन बाँकी छ ।’ 

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था सहित संविधानको संशोधन जरुरी रहेको भन्दै उहाँले वर्तमान संविधानको रक्षा गर्नुपर्ने उल्लेख गर्नुृभयो । 

जनसंवाद यात्राको क्रममा स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्राथमिकता दिएर भेटघाट गरिएको बताउँदै उहाँले एक महिने अभियानको प्रतिवेदन संसदमा प्रस्तुत गर्ने समेत बताउनुभयो ।

 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया