नेताको गलामा थेग्नै नसक्ने मालाको भार : गगन थापा भन्छन् – नाइँ भन्नै गाह्रो

 फागुन ९, २०७५ बिहिबार १३:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएको शनिबार वीरगंजमा भएको कार्यक्रममा कांग्रेस नेताहरु डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालालाई कार्यकर्ताले १२१ किलोको माला लगाइदिए ।

चार, पाँचजनाले उचालेको गह्रौं माला पहिरिएपछि तीनैजनाले एकै स्वरमा भने, ‘पार्टीभित्र हामी तीन कोइराला एक छौं ।’ पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनीहरुले थपे, ‘भाषण गरेर मात्र पार्टी चल्दैन, काम गर्नुपर्छ अनि मात्र नेता बन्न सकिन्छ ।’

कोइराला परिवारका तीन नेताले एउटै माला पहिरिएर आफूप्रति आक्रोश व्यक्त गरेको देउवाले पनि पत्तो पाउनुभयो । त्यसको चार दिनपछि पार्टी सभापति देउवा बारा पुग्नुभयो । उहाँले मलाई पनि माला ठिक पार त भन्नुभएन होला नै । तर वीरगंजमा कोइराला परिवारका नेताले ठूला माला लगाएपछि पार्टी सभापतिलाई त्योभन्दा गह्रौं र ठूलो मालाले सम्मान गर्ने भन्दै कार्यकर्ता हौसिए । 

त्यसपछि हतारहतार १५१ किलोको माला तयार पारे । अनि ३, ४ जनाले सकीनसकी बोकेर मञ्चमा पुर्‍याए । छेउछाउतिर सबैले समाएर पार्टी सभापतिलाई १५१ किलोको माला लगाइदिए । कोइराला परिवारका तीन नेताले भन्दा ठूलो र गह्रौं माला पहिरिएर देउवा बाराबाट वीरगंज पुग्नुभयो र भन्नुभयो, ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ, पार्टीमा कोइराला भन्दैमा पाइन्छ ? कांग्रेस जनताको पार्टी हो, कोइरालाका छोरा नातिको होइन ।’

विपक्षी कांग्रेसका शीर्ष नेताहरुले गलामा गह्रौं माला पहिरिएको बेला सत्तारुढ दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कार्यकर्ताले सानोतिनो सम्मान गर्ने कुरा भएन । डोटी पुग्दा प्रधानमन्त्री ओलीले ५१ किलोको माला पहिरिनुभयो ।

उर्जामन्त्री र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका नेताहरु पनि मालाभित्र अटाए । गलामा लगाउनै नमिल्ने ठूलो न ठूलो मालाभित्र उभिएपछि प्रधानमन्त्री ओलीले हात हल्लाएर पोज दिनुभयो । 

माला पहिरिएपछि उहाँलाई पनि भाषण गर्ने जोश बढ्यो । त्यसपछि भन्नुभयो, ‘यो इतिहासकै उत्कृष्ट सरकार हो ।’

भाषण गर्न थप उर्जा बढ्ने गरी शीर्ष नेताहरुले गह्रौं माला पहिरिएको यो त पछिल्लो उदाहरण पनि हो । योभन्दा पहिले पनि धेरै नेताहरुले यसैगरी ठूला माला पहिरिंदै आएका छन् । कार्यकर्ता र कार्यक्रम आयोजकले लगाइदिने यो मालाले क्षणिक सन्तुष्टि मात्र दिने गरेको छ । यस्तो अव्यवहारिक र भड्किलो सम्मान अर्पण नगर्न केही नेताहरुले आयोजक र कार्यकर्तासँग आग्रह पनि गर्दै आएका छन् । तर यस्तो प्रवृत्तिको अन्त्य हुन सकेको छैन ।

नाइँ भन्नै गाह्रो हुँदो रहेछ, यस्तो चलन हटाउनुपर्छ : गगन थापा

अरु शीर्ष नेताहरुले जस्तै कांग्रेसका युवा नेता गगन थापाले पनि गलाले धान्नै नसक्ने माला पहिरिने अवसर पाउनुभएको छ । ‘मन्त्री हुँदा र अरुबेला पनि केही कार्यक्रममा जाँदा साथीहरु र आयोजकले यस्तै ठूला माला लगाइदिनु भएको छ’ थापाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘यो सबै अनावश्यक हो, तर त्यतिबेला हुँदैन, नाइँ भन्न गाह्रो हुने रहेछ ।’

माला पहिरिने बेला निकै असहज अनुभव हुने उहाँको भनाइ छ । ‘यति ठूलो र गह्रौं माला पहिरिने बेला साह्रै असहज र उकुसमुकुस हुने गर्छ, सायद अरु नेताहरुलाई पनि हुन्छ होला’ थापाले आफ्नो अनुभव सुनाउनुभयो, ‘आफूलाई मन नपरे पनि त्यतिबेला आयोजक र कार्यकर्तालाई केही भन्न सकिंदैन, वातावरण नै त्यस्तो हुन्छ कि जसरी पनि माला पहिरिनुपर्छ ।’

कार्यक्रम सकिएपछि चाहिँ आफूले यस्तो चलन ठिक होइन भनेर भन्ने गरेको थापाले भन्नुभयो । ‘यो चलन अनावश्यक हो, हटाउनुपर्छ’ थापाले भन्नुभयो ।

नेतालाई माला बनाउन भारतीय फूलकै भर

यतिबेला गाउँ ठाउँमा सयपत्री फूल पाईंदैन । मालाको लागि भारतीय फूलकै भर पर्नुपर्छ । पाँच वटा माला बराबर झण्डै एक किलो हुन्छ । अहिले बजारमा सयपत्री फूलको मालाको मूल्य औसतमा ३० देखि ५० रुपैयाँ छ । एकैपटक धेरै किन्दा ३० रुपैयाँमा एउटा माला पाइन्छ ।

यही हिसाबले एक किलो माला तयार पार्न कम्तिमा १५० रुपैयाँ खर्च हुन्छ । १२१ किलोको लागि १८ हजार १ सय ५०, १५१ किलोको लागि २२ हजार ६ सय ५० र ५१ किलोको लागि ७ हजार ६ सय ५० रुपैयाँमा मालामा मात्र खर्च हुन्छ । 

‘हिजोआज शीर्ष नेताहरुलाई माला लगाइदिने चलनले फूलको व्यापार बढाउन सहयोग गरेको छ’ फ्लोरिकल्चर एसोसियशन अफ् नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘भारतीय फूलकै भर पर्नुपर्ने बाध्यता भए पनि माला लगाइदिने चलन त राम्रो हो ।’ 

तर ज्यानले नै धान्न नसक्ने ठूला माला एकछिनको रमझम बाहेक अरुबेला काम लाग्दैन । कार्यक्रमबाट फर्किंदा गलामा लगाएका ससाना माला नेताहरुले घरमै लगेर राखे पनि ठूला र गह्रौं माला भने बोक्न पनि सकिँदैन ।

ठूला मात्रै होइन, गलामा लगाउन मिल्ने साना माला समेत लगाउने चलन हटाउनुपर्ने नेता गगन थापाको जोड छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि माला लगाइदिएर कुनै पनि नेतालाई खुशी पार्नु नपर्ने भन्दै लेख्नुहुन्छ, 'केवल एक फूल दिनोस् या केवल एक मुस्कानसाथ हृदयले स्वागत गर्नोस् ! आलोचनामा गालीको भारी या सम्मानमा फूलको भारी दुवै गलत छन् ! देउवा,पौडेल,कोइराला,प्रचण्ड,ओली या जिल्लामा आउने अरु जो कोहि अगुवा हुन्..‍।'

कांग्रेस नेता धनराज गुरुङ पनि माला लगाइदिने र लगाउने परम्परा हटाउनुपर्नेमा जाेड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, 'सयौं किलोका माला किन्न लाग्ने खर्चले गरिब नेपालीका छोरा-छोरीलाई कापी र कलम किनेर दिएको भए ती बच्चाहरु कति खुशी हुने थिए होलान्? उपचार खर्चको अभावमा मृत्यु शैय्यामा छट्पटाइरहेको गरिबलाई दिएको भए पनि उनले जीवन र खुशीसँगै पाउने थिए। नेतालाई खुशी पारेर खुशी नेपाली,सुखी नेपाली बन्छ?'

अन्तिम अपडेट: फागुन २६, २०७५

1 Comments

  • Tamang Kalu

    Feb. 21, 2019, 6:41 p.m.

    वाहियात नाटक .....

  •  0 Reply

तपाईको प्रतिक्रिया