विदेश छोडेर स्वदेशमै भविष्य खोज्दै: रुखको टोड्कामा पिपल उम्रने देशमा गरे के हुँदैन र !

 फागुन ९, २०७५ बिहिबार १४:८:५४ | श्यामशितल परियार

लमजुङ – पैसा कमाउन परदेश जाने युवाको संख्या मात्र होइन पछिल्लो समय विदेशबाट स्वदेश फर्केर, विदेशमा सिकेको सीप र कमाएको पैसा आफ्नै देशमै खर्चेर विभिन्न उद्यम गर्ने युवाको संख्या पनि बढ्दो छ । 

उनीहरुले स्वदेशमै विभिन्न उद्यम गरी मनग्य कमाएका पनि छन् । त्यसैमध्येका एक हुनुहुन्छ, लमजुङ सुन्दरबजार नगरपालिका–७, पाउँदीका राजु पोखरेल । 

सोचेजस्तो भएन विदेश

परिवारका एक्ला छोरा राजु १८ वर्षकै उमेरमा विदेश भासिनुभयो । पोखरेल घर–परिवारको सुन्दर भविष्यको कल्पना गर्दै विदेश भासिनुभएको हो । 
‘पढ्ने इच्छा त थियो नै । तर घरको अवस्थाले गर्दा धेरै पढ्न सकिएन,’ उहाँले भन्नुभयो, ‘एसएलसी पछि म विदेश गएको हुँ ।’

राजुले साउदी (३ वर्ष), दुवई (२ वर्ष), कतार (२ वर्ष) र माल्दिभ्स (१ वर्ष) गरी ८ वर्ष विदेशमै जागिरे जीवन बिताउनुभयो । तर विदेश बसाइ सोचेजस्तो भएन । उहाँ भन्नुहुन्छ, ‘आफूमा सीप, दक्षता थिएन । त्यसैले विदेश सोचे जस्तो भएन ।’

गाउँ फर्कने निधो

विदेशमा सोचेजस्तो कमाइ हुन नसके पनि विदेशमा उहाँले सीप सिक्नुभयो । ‘परिश्रम गर्नुपर्छ’ भन्ने पाठ पनि सिकायो विदेश बसाइँले उहाँलाई । 
माल्दिभ्स रहँदै गर्दा बंगलादेशबाट माटो ल्याएर कृषि उत्पादन गरेको देख्दा उहाँको मन छोयो । त्यसपछि, उहाँमा गाउँघरमा बाँझो पल्टिएका जग्गामा कृषि कर्म गर्ने सोच पलायो । त्यसपछि उहाँले गाउँ फर्कने निधो गर्नुभयो ।

‘माल्दिभ्समा बंगलादेशबाट माटो ल्याएर कृषि उत्पादन गरेको देखेर म त छक्कै परेँ । यसले मेरो मन छोयो,’ उहाँले खुशीसाथ भन्नुभयो, ‘हाम्रो देश त रुखको टोड्कामा पनि पिपल उम्रने देश, गरे के हुँदैन र ! भन्ने सोेचेर विदेश छोडेर आफ्नै देश फर्किएँ ।’

व्यावसायिक कृषि कर्म सुरु

विदेशबाट गाउँ फर्केपछि अहिले उहाँ गाउँघरकै माटोमा सुन्दर भविष्यको कल्पना गर्दै व्यावसायिक कृषि कर्ममा होमिनुभएको छ । 
उहाँले खेर गएको आफ्नो ९ रोपनी जग्गामा व्यावसायिक बाख्रापालन, कुखुरापालनसँगै केरा खेती सुरु गर्नुभएको छ । 

४ वटा माउ बाख्राबाट सुरु भएको उहाँको बाख्रापालन व्यवसाय अहिले विस्तार भएको छ । उहाँले एक लाखभन्दा बढी खर्चेर व्यवस्थित आधुनिक खोर बनाएर बाख्रा पाल्नुभएको छ । 

साना–ठूला गरी अहिले उहाँसँग १९ वटा बाख्रा रहेका छन् । उहाँले जमुनापारी र खरी जातका बाख्रा पाल्नुभएको छ ।

व्यवस्थित खोर बनाएर बाख्रा पाल्दा फाईदा

व्यवस्थित खोर बनाएर बाख्रा पाल्दा फाइदा हुने उहाँ बताउनुहुन्छ ।

‘व्यवस्थित खोर नहुँदा बाख्राका मलमुत्र एकै ठाउँमा जम्मा हुन्छ । जसका कारण ‘एमोनिया ग्याँस’ उत्पन्न हुन्छ । यसले गर्दा बाख्राको गर्भ तुहिने, बाख्रा नमोटाउने जस्ता समस्या देखिन्छ,’ उहाँले थप्नुभयो, ‘व्यवस्थित खोर बनाई बाख्रा पाल्दा यी समस्याबाट बच्न सकिन्छ । बाख्रापालक किसानलाई फाईदा पुग्छ ।’
जोस–जाँगरका साथ कृषि कर्ममा लाग्न सके यसैबाट मनग्य कमाउन सकिने उहाँ बताउनुहुन्छ । 

व्यावसायले फड्को मार्दै गएमा भावी दिनमा कृषि कर्मलाई थप व्यवस्थित र विस्तार गर्ने उहाँको योजना रहेको छ ।

डेढ वर्षमै राम्रो कमाई

व्यवसायमा उहाँलाई बुवा–आमाका साथै श्रीमतिको पनि साथ÷सहयोग मिलेको छ । उहाँले बाख्रा पाल्न थालेको झण्डै डेढ वर्ष पूरा भएको छ । यस अवधिमा व्यवसायबाट राम्रै कमाइ भएको उहाँ बताउनुहुन्छ । 

‘डेढ वर्षको अवधिमा बाख्रापालन व्यावसायबाट मैले एक लाख १२ हजार कमाउन सफल भएँ,’ उहाँले सुनाउनुभयो, ‘बाख्रापालनबाट राम्रो आम्दानी हुने आशा र भरोसाका साथ बाख्रापालन गरिरहेको छु ।’

बाख्रापालनलाई थप विस्तार गर्ने उहाँको योजना रहेको छ ।

‘बाख्राको संख्या ५० पुर्याउने लक्ष्य छ । ‘बोयर’ जातको बाख्रा पाल्ने योजना पनि बनाएको छु,’ उहाँले आफ्नो भावी योजनाबारे जानकारी गराउनुभयो ।

आफ्नै देशमा उद्यम गर्न सके राम्रो

बाख्रापालनका लागि उहाँले किम्बु काफल, पाखुरी, टाँकी, बकाईनो लगायत भुइँ घाँस पनि रोप्नुभएको छ ।

उत्पादन नजिकैको पाउँदी बजारमै खपत हुने गरेकाले उहाँलाई बजारको कुनै समस्या छैन । विदेशमा सिकेको सीप, कमाएको पैसा आफ्नै देशमै फर्की स्वदेशकै माटोमा खर्च गर्न उहाँ आम युवालाई आग्रह गर्नुहुन्छ ।  

‘विदेश जाने हो भने सीप सिकेर जानुपर्छ । विदेशमा गएर सिकेको सीप, कमाएको पैसा देशमै फर्केर आफ्नै देशमा उद्यम गर्न सके राम्रो हुन्छ,’ ३४ वर्षे राजुले मुस्कुराउँदै भन्नुभयो ।   
 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया