पर्यटकीय गन्तव्य बन्दै तिमाल डाँडा

 फागुन ९, २०७५ बिहिबार २०:०:५ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डाै - तपाइँलाई रमणीय क्षेत्रको अवलोकन गर्न मन छ, तर कहाँ जाउँ भइरहेको छ भने काभ्रेको तिमाल उपयुक्त हुन सक्छ । 

काठमाण्डौदेखि करिब ७३ किलोमिटर पूर्व उत्तरतर्फको दूरी छिचोलेपछि तपाई काभ्रेपलाञ्चोकको तिमाल पुग्न सक्नुहुन्छ । 

समुन्द्री सतहदेखी २ हजार १ सय मिटरभन्दा अग्लो तिमाल डाँडामाथि पुगेपछि तपाइँको मन साँच्चै फुरुङ्ग हुन्छ । जस्तै लामो यात्राको थकान पनि त्याहाँ पुगेपछि एकैछिनमा मेटिन्छ । 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको तिमाल डाडाबाट फेदीमा बग्ने सुनकोसी नदीको नागबेली दृश्य देख्न सकिन्छ । सबैलाई आनन्दित तुल्याउने अर्को पाटो भनेको चिटिक्क मिलेका घरहरु, ग्रामीण जनजीवन र नदीसहितको पहाडी भौगोलिक दृश्य हो ।  

अझ यो डाँडाबाट दक्षिणतर्फ देखिने महाभारत चुरे पर्वतका हरिया डाँडा, उत्तरतिर चाँदिका घेराझैँ टल्कने हिमाल र लामो दुरीसम्म देखिने फाँटले हर-कोहीको मन लोभ्याउने गर्छ । 

लाङटाङ, मनास्लु, धौलागिरी हिमालका साथै विश्वको सर्वोच्च शिखर सगरमाथासहित पाँचओटा हिमशृंखला आँखैको अगाडि एकै ठाउँमा बसेर देख्न पाउनु अर्को साैभाग्य पनि हो ।  

उत्तरमा हिमशृङ्खला र दक्षिणमा चुरे पर्वत एकै ठाउँमा बसेर दृश्यपान गर्न सकिने र फेदीबाट आउने सुनकोसीको कलकल आवाज श्रवण गर्न सकिने भएकाले अहिले तिमाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अभियान नै अगाडि बढाइएको छ । 

ट्रेकिंग एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले तिमाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटकीय स्मृति पार्क बनाउने कामलाई तीव्रता दिएको छ ।

  
तिमाल डाँडाको करिब १ सय ४० रोपनी क्षेत्रफलमा स्मृति पार्क बनाउनका लागि ‘टान’ ले सन् २०११ देखि काम गरिरहेको छ । पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा बनाउन लागिएको पार्कले पर्यटकीय विकासमा फड्को मार्ने टानका निर्वतमान महा सचिवत कर्ण लामाले बताउनुभयो । 

८ वर्ष अघिबाट सर्वेक्षण र विभिन्न प्रकृया अगाडि बढाएर अहिले स्मृती पार्क निर्माणको पहिलो चरणको काम सुरु भएको छ । पहिलो चरणको कामा अन्तर्गत पार्कस्थलसम्म पुग्ने सिँढी निर्माणको काम अघि बढेको छ ।  

स्मृती पार्क निर्माण गर्न अहिले पर्यटन बोर्डका साथै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पनि रकम विनियोजन गरेका छन् । पार्क जतिसक्दो छिटो निर्माण गरि सञ्चालनमा ल्याउन सरकारको मात्रै मुख ताक्ने नभई दाताको पनि खोजी भइरहेको लामाले बताउनुभयो ।

पर्यटन बोर्डले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । 

बुद्धिस्ट मास्टर ट्रेल अन्तर्गत निर्माण गर्न लागिएको स्मृति पार्क निर्माणका लागि नेपालस्थित विभिन्न देशका दूतावास र गैर–सरकारी संस्थासँग सहयोग माग गरिएको लामाले जानकारी दिनुभयो ।

तिमाल डाँडामा पर्यटन स्मृति पार्कसँगै स्थानीय सँस्कृति झल्कने संङ्ग्रहालय, वनभोजस्थल, भ्यु टावरका साथै आश्रम स्थल बनाउने योजना छ । 

काभ्रेको तिमाललाई तामाङहरुको उद्गमथलो मानिने गरिएको छ । पर्वतीय पर्यटनमा मजदुरी गर्ने तामाङ समुदायको बाक्लै प्रतिनिधित्व रहेका कारण स्मृति पार्कका लागि तिमाल छानिएको उहाँले बताउनुभयो । 

आठौँ शताब्दीतिर गुरू रिम्पोछे (पद्मसम्भव)को तपस्यास्थल र पृथ्वीनारायण शाह र तामाङ राजा रेञ्जेन दोर्जेबीचको सम्बन्ध र कालान्तरमा रेञ्जेनको हत्या प्रकरणका कारण तिमाल ऐतिहासिक भूमीको रुपमा पनि परिचित छ । 

तिमाल पुग्न काठमाडौं–बनेपा हुँदै बीपी राजमार्गको भकुण्डेबेंसी पुग्नुपर्छ । भकुण्डेबेसीबाट मेथिनकोट, कानपुर, सर्स्युँखर्क, चापाखोरी हुँदै तिमाल डाँडा पुगिन्छ ।

त्यस्तै, पाँचखाल नगरपालिकाको तामाघाटबाट स्थानीय कच्ची सडक प्रयोग गरेर बोहोरे दोभान, सर्स्युँखर्कको आदाबाट हुँदै वा बोहोरेदोभानबाट अमल्टारी, ठूलो पर्सेल हुँदै पनि तिमाल डाँडा पुग्न सकिन्छ ।

तिमालको अर्को धार्मिक महत्व भनेको जैविक वनस्पति बोधिचित्त उत्पादनको उद्गम थलो हो । बोधिचित्तका कारण तिमालले विश्वको ध्यान खिच्न पनि सफल भएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया