महिलालाई सक्षम नबनाएसम्म देशले समृद्धि हासिल गर्न सक्दैन : राष्ट्रपति

 फागुन ९, २०७५ बिहिबार १९:०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई सक्षम नबनाएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने बताउनुभको छ । 

आधा आकास ढाकेका महिलाहरुलाई सक्षम बनाउनुका साथै संविधान प्रदत्त अधिकार प्राप्त गर्न सक्ने अवस्थामा पुर्‍याएपछि मात्रै समृद्ध नेपाल, सुखी नेपालीको अभियानले पूर्णता पाउने पनि उहाँले बताउनुभयो । 

प्रदेश नम्बर -२ को सरकारले सञ्चालन गरेको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्धति बचत कार्यक्रमको बिहीबार वीरगञ्जमा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

प्रदेश सरकारले सुरु गरेको छोरी शिक्षा बीमा कार्यक्रमले छोरीको शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण भुमिका खेल्ने बताउँदै राष्ट्रपति भण्डारीले यो कार्यक्रम अन्य प्रदेशका लागि पनि उदाहरणीय बन्न पुगेको बताउनुभयो ।  

अझै पनि छोराछोरीमा विभेद गर्ने प्रवृत्ति रहिरहनु उचित नभएको भन्दै उहाँले त्यसको अन्त्यका लागि प्रदेश २ सरकारले चालेको कदम सह्रानीय रहेको भन्दै प्रशंसा पनि गर्नुभयो । 

कार्यक्रममा प्रदेश न. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले छोरी बीमा कार्यक्रमले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।  

साथै यो कार्यक्रमले तराइमा अहिले पनि जकडिएर रहेको दाइजो तथा महिला हिंसाका घटना नियन्त्रण हुने विश्वास लिनुभयो । त्यसैगरी प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउत गदीले छोरीलाई सबै कुरामा समान हैसियतमा ल्याउनका लागि यो सुरुवाती कार्यक्रम कार्यक्रम मात्रै रहेको बताउनुभयो । 

प्रदेश सरकारले ५० प्रतिशत महिला आरक्षणको व्यवस्था सहितको कानुन निकट समयमा नै ल्याउने भन्दै उहाँले अब छोरीलाई कुनै पनि तरिकाले विभेदमा नपारिने बताउनुभयो । 

समाज रुपान्तरणको प्रकृयामा प्रदेश सरकार जुटिरहेको भन्दै उहाँले दलित शसक्तिकरण  बिधेयक तथा मुस्लिम समुदायको उत्थानको लागि मदर्सा शिक्षामा अंग्रेजी, बिज्ञान र नेपाली बिषय पढाउने गरि आवश्यक तयारी अगाडि बढाइएको पनि बताउनुभयो ।    

कार्यक्रमका बीच बीरगंज महानगरपालिकाको वडा न. १ देखि १६ सम्म माघ १ यता जन्मिएका नवजात शिशुहरुको बीमा गरिएको रसिद राष्ट्रपति भण्डारीले उनीहरुका अभिभावकलाई हस्तान्तरण गर्नुभएको थियो ।  

जसमध्ये आइसा खातुन, सृजना महतो, आयुषी गुप्ता, सकिना खातुन लगायत वीरगञ्जमा मात्रै २४ जनाको यो अवधिमा छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत बिमा गरिएको छ ।  

अब छोरी २० वर्ष भएपछि बीमा बापतको १ लाख रुपैयाँ प्राप्त गर्ने र रकम जम्मा गरिएको प्रभु बैंकको तर्फबाट समेत त्यसमा २५ हजार रुपैयाँ थप गरी १ लाख २५ हजार रुपैया उपलब्ध गराइने मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।  

कार्यक्रमको पहिलो चरणमा प्रदेश न. २ का ८ जिल्लाका १/१ स्थानीय तहमा सुरु गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया