प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

 फागुन ९, २०७५ बिहिबार २०:३६:१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – प्रदेश नम्बर १ स्तरीय महिला भलिबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पूरा भएको छ ।

फागुन ७ गतेबाट सोलुखुम्बुको दोर्पुबजारमा रहेकाे योङ स्टार क्लबको खेल मैदानमा जारी प्रतियोगितामा बिहीबार सखुंवासभा, सुनसरी, सोलुखुम्बु र ओखलढुंगा सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

बिहीबार भएको क्वाटरफाइनलको पहिलो खेलमा सखुंवासभाले खोटाङलाई ३–० को सोझो सेटमा पराजित गर्याे भने दोस्राे खेलमा सुनसरीले उदयपुरलाई ३–२ को सेटले हरायाे ।

तेस्रो खेलमा सोलुखुम्बुले मोरङलाई ३–० को सोझो सेटमा र चौथो खेलमा ओखलढुगांले झापालाई ३–२ को सेटले पराजित गरेको रेफ्री बिनय राईले जानकारी दिनुभयो ।

लिग कम नक आउटको आधारमा खेलाइएको खेलमा प्रदेश नम्बर १ का चौधै जिल्लाका महिला भलिबल टिमको सहभागिता रहेको थियो । ६ जिल्लाका खेलाडी लिग चरणबाटै बाहिरिएका थिए भने ४ जिल्लाका खेलाडी क्वाटरफाइनलबाट बाहिरिएका छन् ।

प्रतियोगितामा सेमिफाइनलका खेलहरु शुक्रबार हुनेछन् । शुक्रबार हुने सेमिफाइनलको पहिलो खेलमा सखुंवासभाविरुद्ध सोलुखुम्बु भिड्ने छ । त्यस्तै दोस्रो खेलमा ओखलढुंगा र सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।

खेल क्वाटरफाइनल देखिनै बेस्ट अफ फाइभकाे आधारमा खेलाइएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया