पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि आईओसीले भारतलाई गर्‍याे कडा कारबाही

 फागुन १०, २०७५ शुक्रबार १२:४:४८ | एजेन्सी
unn.prixa.net

भारतमा हुन लागेको सुटिङको विश्वकप रोक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निर्देशन दिएको छ ।

भारतले पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि यस्तो निर्देशन दिएको हो । आईओसीले भारतीय सरकारले लिखित रुपमा भिसा दिने विषयमा आश्वासन नदिँदासम्म भारतमा हुने कुनै पनि ओलम्पिकसँग सम्बन्धित प्रतियोगिताहरु आयोजना गर्न पनि रोक लगाएको छ ।

स्विट्जरल्याण्डमा बसेको ओलम्पिक कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । भारतमा हुन लागेको सुटिङमा पाकिस्तानका दुई जना खेलाडी सहभागी हुने तय भएको थियो । जीएम बशीर र खलील अहमद २५ मिटर र्‍यापिड फायर इभेन्टमा भाग लिनका लागि आउन खोज्दा पाकिस्तानी खेलाडी भएकै कारण भारतले भिसा दिन अस्वीकार गरेको थियो ।

भारतीय कदमविरुद्ध नेशनल राइफल एसोसिएशन अफ पाकिस्तानले आईओसीमा उजुरी गरेको थियो । जम्मू-कश्मीरको पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मी मारिएपछि आक्रमणमा पाकिस्तानको हात रहेको आरोप भारतले लगाउँदै आएको छ । जसका कारण अहिले भारतले पाकिस्तानसँगका सबै सम्बन्ध तोड्नुपर्ने आवाज उठिरहेकाे छ ।

आईओसीले आयोजक देशमा आउने कुनै पनि खेलाडीलाई राजनीतिक हस्तक्षेपबिना निष्पक्ष र समान व्यवहारका साथ प्रतियोगितामा सहभागी हुन मौका दिनुपर्ने बताएकाे छ ।

यो काम आईओसीको आचारसंहिताविरुद्ध भएकाले आउँदा प्रतियोगितामा पनि गम्भीर असर पर्ने चेतावनी दिएको छ । योसँगै अन्तर्राष्ट्रिय सुटिङ फेडरेशनले विश्वकपका लागि ओलम्पिकको कोटा पनि हटाएको छ ।

जसको प्रत्यक्ष घाटा भारतलाई नै भएको छ । १६ वटा कोटामध्ये १४ वटा कोटा भारतलाई मिल्ने तय भएको थियो । योसँगै भारतीय खेलाडीलाई पनि ठूलै झट्का लागेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया