निर्मलाका परिवारले गरे तीन महिनादेखिकाे धर्ना स्थगित

 फागुन १०, २०७५ शुक्रबार १५:३४:५३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – लामो समयदेखि धर्ना बसिरहनुभएका निर्मला पन्तका बुवाआमाले शुक्रबार धर्ना स्थगित गर्नुभएको छ । 

निर्मलाको बुवाआमा आफ्नी छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्दै आउनुभएको थियो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूल गेट अगाडि बसेर छोरीको न्यायका लागि माग गर्दै उहाँहरुले धर्ना सुरु गर्नुभएको थियो । तर स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित गर्नुपरेको हो ।

धर्नामा बस्दा स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि काठमाण्डौ जाने भएकाले धर्नाको कार्यक्रमलाई स्थगित गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले बताउनुभयो । उहाँले धर्नालाई स्थगित गरे पनि आन्दोलनका अन्य कार्यक्रम भने जारी रहेको बताउनुभयो ।

यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किनुभएका यज्ञराज र उहाँकी कान्छी श्रीमती लक्ष्मीदेवी पन्तको स्वास्थ्यमा खराबी आउन थालेपछि धर्ना स्थगित गर्नुपरेको नागरिक संघर्ष समितिले जनाएको छ । 

धर्ना स्थगित गर्नुअघि पीडित परिवारले निर्मलाको हत्यारालाई पत्ता लगाउन तथा दोषी प्रहरीमाथि समेत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया