विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान रोक्न सरकारलाई लेखा समितिकाे निर्देशन

 फागुन १०, २०७५ शुक्रबार १५:५४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदको सार्वजनिक लेखा समितिले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । 

सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले १ अर्ब ५३ करोड घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निमगलाई निर्देशन दिएको हो ।

नेपाल वायु सेवा निगमले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने देखिएकाले तत्काल सो प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिनु भयो ।

निगमले लुब्रिहंश कम्पनीलाई परेको सो ठेक्का आह्वान रद्द गरी अर्कै कम्पनीसँग १ अर्ब ५३ करोड घुस लिएर नयाँ प्रक्रिया सुरु गरेको समितिको आशंका छ । बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कानुनसम्मत नभएकाले लुृब्रिहंस कम्पनीलाई दिइएको ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्नु परेको जवाफ दिनुभएको थियो ।

बैठकमा समितिका सदस्यहरुले नेपाल वायु सेवा निगमले सो टेन्डर आह्वान प्रक्रिया अघि बढाए सह्य नहुने चेतावनी दिएका थिए । सांसद प्रेमकुमार आलेले निगमले फेरि सो टेन्डर आह्वान प्रक्रिया अघि बढाएर भ्रष्टाचार गर्न खोजेको उल्लेख गर्दै सह्य नहुने चेतावनी दिनुभयो ।

समितिका अर्का सदस्य लेखराज भट्टले सो टेन्डर आह्वान प्रक्रियाबारे विस्तृत अध्ययन गरेर मात्रै अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।

नेपाल वायु सेवा निगमले दुई वटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार गरेको निष्कर्ष त्यसै समितिले निकालेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया