यस्ताे छ अहिलेका व्यस्त नायक पल शाहकाे आनीबानी

 फागुन १०, २०७५ शुक्रबार १७:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा उदाएका अभिनेता हुन पल शाह । म्युजिक भिडियोबाट दर्शकको मन जितेका पलको पहिलो चलचित्र भने ‘नाई नभन्नु ल ४’ हो । उनलाई निर्देशक विकासराज आचार्यले कलिउडमा डेव्यु गराएका थिए । 

त्यसपछि भने उनी चलचित्र क्षेत्रमै व्यस्त बन्दै गएका छन् । नाई नभन्नु ल ४ पछि उनले म यस्तो गीत गाउँछु, जोनी जेन्टलमेन, सत्रुगते लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । 

हाल उनी मिलन चाम्सले निर्देशन गर्दै गरेको चलचित्र वीरविक्रम २ को छाँयाकनमा व्यस्त छन् । उनी आफ्नो गेटअपमा र आफ्नो लुक्समा निकै ध्यान दिने गर्छन् ।  पल कस्ताे किसिमका कपडा लगाउन रुचाउँछन, मेकअप कस्ताे गर्छन् भन्ने विषयमा उनीसँग गरिएको कुराकानी गरिएकाे कुराकानी यसप्रकार छ ।

चक्लेटी हुनुहुन्छ, फ्यान फलाेइङ पनि उत्तिकै छ, ड्रेसअपमा कत्तिको ध्यान दिनुहुन्छ ?

घरमा बस्दा सामन्य ड्रेसअपमै हुन्छु, साधारणतया म बाहिर हिँड्दा भने सर्ट, पाइन्ट, टीसर्ट र आउटर लगाउँछु । यस्तै खालको ड्रेसअप मेरो रोजाइमा पर्छ । मसँग भएका अधिकांश कपडा यस्तै नै छन् ।

पसलमा कपडा छनौट कसरी गर्नुहुन्छ ?

कपडा किन्दा चाहिँ म समय खर्चेर नै किन्ने गर्छु । आफुलाई के-कस्तो कपडा सुहाउँछ, एकपटक लगाएर हेर्छु । कपडाहरु लगाउँदा मलाई कपडाको रङ मिलाएर लगाउनुपर्छ । जस्तै पाइन्ट कालो छ भने सेतो टिसर्ट र आउटर त्यही अनुसार मिलाएर लगाउनुपर्छ । साथीहरुले पनि मलाई यस्तै ड्रेसअपमा सुहाउँछ भन्नुहुन्छ ।

कति-कति समयमा कपडा किन्ने गर्नुभएको छ ?

धेरैजसो भिडियोको काममा व्यस्त भइरहेको हुन्छु । कहिलेकाहीँ भिडियोको लागि महिनामै दुई तीनवटा आवश्यक पर्छ त्यही अनुसार किन्नु परिहाल्यो । नत्र साधारणतया आफ्नो लागि चाहि महिनामा एक पल्ट सम्म किन्ने गरेको छु ।

कुन ब्राण्डका कपडा रोज्नुहुन्छ ? 

त्यस्तो महङ्गो ब्राण्डेड नै लगाउनुपर्छ भन्ने छैन । मलाई मन परेपछि जे जतिको भए पनि किन्छु । स्थान पनि यही नै जानुपर्छ भन्ने छैन । सडकमा हिँड्दै गर्दा देखेँ र राम्रो लाग्यो भने त्यहीँ पनि किनिदिन्छु । 

त्यस्तो महङ्गो कपडा मात्र किन्ने भन्ने होइन । कहिलेकाहि अलि महंगो सुट किनिन्छ । ज्याकेटहरु १२÷१५ हजारको अनि जुत्ताहरु पनि त्यत्ति नै आसपास मूल्यको किन्छु ।

कपडाका लागि मात्र महिनामा कति जति खर्च हुन्छ ?

हाहाहा त्यो त ठ्याक्कै यति हुन्छ भनेर कसरी भन्नु र ? हिसाब गरेर राख्ने गरेको छैन । सधैं एकसमान हुन्छ भन्ने छैन । कहिले धेरै हुन्छ, कहिले थोरै हुन सक्छ । कहिले नहुन पनि सक्छ । जति भिडियो खेल्नुपर्ने हुन्छ, कपडा किनाइमा खर्च पनि त्यति नै बढ्छ । 

कस्तो कपडा किन्ने भनेर घरबाटै सोचेर जानुहुन्छ कि पसलमै गएपछि छनोट गर्नुहुन्छ ?

सामान्यतया यो किन्छु भनेर त पहिले नै सोचिन्छ नि । तर आफूलाई कुन रङको कपडा सुहाउँछ भन्ने कुरा भने लगाएरै थाहा हुने भएकाले लगाएर हेरेपछि मात्र किनिन्छ । 

गरगहनामा कत्तिको रुची राख्नुहुन्छ ?

अहँ... गरगहनाहरुमा मलाई फिटिक्कै रुचि छैन । पहिला भने हातभरी औँठी तथा ब्रासलेट टन्नै लगाउँथेँ, तर अहिले एकदमै कम छ । लगाउनै मन लाग्दैन ।

हेयर स्टाइलमा कति समय खर्चिनुहुन्छ ?

सामान्य हिँडडुलमा सामान्य नै हुन्छ, त्यस्तो धेरै समय लाग्दैन । अब भिडियो, चलचित्रमा त कथाले जे जस्तो माग्यो त्यस्तै गर्नु परिहाल्यो । 

अनुहारकोे मेकअपमा चाहिँ कत्तिको ध्यान दिनुहुन्छ ?

कथाले जे जति माग्छ त्यति हो हाहाहा । खर्चकै हिसाबले भन्ने हो भने यसमा एकदमै कम खर्च गर्छु । सुटिङको बेला त गर्नु परिहाल्यो । अन्यथा म आफै खर्च गरेर मेकअप गर्दिनँ । 
 ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया