विश्वकपमा पाकिस्तानविरुद्ध खेल्ने या नखेल्ने निर्णयकाे जिम्मा बीसीसीआईले दियाे भारत सरकारलाई

 फागुन १०, २०७५ शुक्रबार १९:४५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आसन्न विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध खेल्ने या नखेल्ने निर्णय सरकारलाई जिम्मा लगाएको छ ।

बीसीसीआईको बैठकले यसबारे भारतीय सरकारले गर्ने निर्णय नै औपचारिक हुने जनाएको छ । तर उसले क्रिकेटको सर्वोच्च निकाय आईसीसीलाई पत्र लेख्दै आतंकवाद बढाउने देशलाई क्रिकेटबाट अलग गर्नुपर्ने उल्लेख गरेको छ ।

आईसीसीलाई लेखेको पत्रमा आसन्न विश्वकप क्रिकेट र आउँदा अन्य क्रिकेट प्रतियोगिताका लागि खेल र खेलाडीको सुरक्षाको चिन्ता ब्यक्त गरेको छ । वीसीसीआईका सीओएका प्रमुख विनोद रायले भारतले पाकिस्तानसँगको खेलको विषयमा सरकारसँग छलफल गरेपछि मात्रै औपचारिक निर्णय आउने बताएका छन् । आज बसेको बैठकले पछिल्लो घटनाक्रमबारे आईसीसीलाई जानकारी गराउने निर्णय गरेको बताए । 

यस्तै बैठकले विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाईज लिग क्रिकेट आईपीएलको उद्घाटन समारोह नगर्ने निर्णय गरेको छ । विगतमा भव्य उद्घाटन समारोह गर्ने गरिएकोमा यस बर्ष हुन लागेको ११ औं संस्करणको उद्घाटनका बेला हुने खर्च पुलवा घटनामा मारिएका सैनिक परिवारलाई दिने निर्णय गरिएको हो ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकरले  विश्वकप क्रिकेटमा भारतले सधैं पाकिस्तानलाई हराएकाले अहिले पनि हराउने विश्वास व्यक्त गरेका छन् । तर अहिले पाकिस्तानविरुद्ध भारत नखेल्दा उसैलाई २ अंकको फाइदा पुग्ने उनको भनाई थियो । तर यस विषयमा सरकारले गर्ने निर्णय नै ठिक हुने उल्लेख गरे ।

यस्तै कांग्रेस आईका सांसद शशि थरुरले भिडियो सन्देश जारी गर्दै पाकिस्तानसँग विश्वकपमा खेल्नु पर्ने धारणा सार्वजनिक गरेका छन् । उनले १९९९ मा कारगिल युद्धका समयमा समेत भारतले पाकिस्तानसँग विश्वकप खेलेको प्रसँग उल्लेख गर्दै अहिले नखेल्दा पाकिस्तानसँग आत्मसमर्पण गरेको ठहरिने उनको भनाई छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया