सन्दीपकाे महत्वपूर्ण ३ विकेटकाे मदतले लाहोर कलन्दर्स ६ विकेटले विजयी

 फागुन १०, २०७५ शुक्रबार २१:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान प्रिमियर लिग क्रिकेट पीएसएलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स ६ विकेटले विजयी भएको छ ।

टिमले चौथो खेल खेले पनि सन्दीपले आजै मात्र पीएसएलमा डेब्यु गर्दै महत्वपूर्ण तीन विकेट लिएका थिए ।

मुल्तान सुल्तानले दिएको २०१ रनको भारी लक्ष्यलाई लाहोरले २ बल बाँकी छँदै पूरा गरेको हो । लाहोरको जितमा कप्तान एबी डिभिलियर्सले ५२ तथा डेभिड वेइज ४५ रनमा नट आउट रहे ।

पहिलो विकेट ३६ रनमा गुमाएको लाहोरले दोस्रो विकेट १०१ रनमा खेर फाल्यो । १० रन बनाएका सोहेल अक्तर पहिलो विकेटका रुपमा आउट भएपछि सल्मान बट र फकर जमामले टिमको स्कोर १०१ पुर्याएका थिए । फकर जमाम ३५ बलमा ६३ रन बनाउँदै पेभेलियन फर्किए ।

त्यसलगत्तै सलमान बट पनि व्यक्तिगत १७ रन बनाए आउट भए । क्रिजमा रहेका एबी डिभिलियर्सले अन्तिमसम्म खेलमा टिक्दै डेभिड विससँग९८ रनको साझेदारी गरे । जसमा एबी डिभिलियर्सले २९ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५२ रन बनाए । यसैगरी डेभिडले २० बलमा ४५ रन बनाउने क्रममा ५ छक्का प्रहार गरे 

त्यसअघि पहिला ब्याटिङ गरेको मुल्तान सुल्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । मुल्तानविरुद्धको खेलम नेपालका सन्दीपले महत्वपूर्ण तीन विकेट हात पारेका थिए ।

मुल्तान सुल्तानले लाहोरमाथि रनको पहाड खडा गर्ने क्रममा बलिङमा आएका सन्दीप पहिलो ओभरमा भने पिटिएका थिए । पहिलो ओभरमा १७ रन खाएका सन्दीपले  दोस्रो र तेस्रो र चौथो ओभरमा महत्वपूर्ण तीन विकेट लिए । दोस्रो ओभरमा उनले लाहोरो क्वालन्दर्सलाई पहिलो सफलता दिलाएका थिए ।

उमर सिद्धिकी र जेम्स भिन्सका बीचमा पहिलो विकेटका लागि भएको पीएसएलकै सर्वाधिक ठूलो साझेदारीलाई तोड्न सफल भए । उनले ११।५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भेन्सलाई फकर जमामको हातबा क्याच आउट गराएका थिए । 

व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गरे । यसैगरी अन्तिम ओभरमा उनले आन्द्रे रसेललाई आउट गर्दै डेब्यु खेलमै महत्वपूर्ण तीन विकेट लिन सफल भए । उनले समग्रमा ४६ रन दिए ।

लाहोरका तर्फबाट कुनै पनि स्पिनरले विकेट लिन नसकेका बेला सन्दीपले त्यो खडेरी पनि तोडे । यसअघिका तीन खेलमा मिडियम पेसर बलरले मात्र विकेट लिएका थिए ।

 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया