आफूलाई राजनीतिक शक्ति ठान्नेले जबरजस्ती चन्दा असुल्ने र बम विस्फाेट गराउनु निन्दनीय : विवेकशील नेपाली दल

 फागुन ११, २०७५ शनिबार १२:४२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विवेकशील नेपाली दलले शुक्रबार साँझदेखि काठमाण्डाैलगायत देशका विभिन्न ठाउँमा भएका बम विस्फोटलगायतका हिंसात्मक घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकाे छ ।

शनिबार पार्टीका प्रवक्ता मिलन पाण्डेले एक विज्ञप्ति सार्वजनिक गर्दै  कुनै पनि समस्याको समाधान हिंसा-प्रतिहिंसा हुनै नसक्ने बताउनु भएकाे छ ।

ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा भएको विस्फोटमा परि उपचारको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उचित क्षतिपूर्ति र अन्य घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत विवेकशील नेपालीले सरकारसँग आग्रह गरेकाे छ ।

बम विस्फोटको लागि जिम्मेवार पक्षले एनसेल कम्पनीसँग चन्दा मागेको र समयमा नै चन्दा रकम नपाएको कारण विस्फोट गराएको भन्ने समाचारहरू आएका बताउँदै आफूलाई राजनीतिक शक्ति ठान्ने  जाे कसैले जबरजस्ती चन्दा असुली गर्नु र आफ्नो माग पूरा नभए बम विस्फोट जस्तो हिंसात्मक गतिविधिमा उत्रनु निन्दनीय भएकाे विवेकशीलले जनाएकाे छ ।

यस्ता घटनाहरूले त्रासको वातावरण सिर्जना गर्ने र लगानीकर्ताको लगानीको सुरक्षामा समेत शङ्का पैदा गर्ने हुँदा, सरकार र सरोकारवालाहरू अत्यन्तै गम्भीर हुन जरुरी  भएकाे बताउँदै शान्ति सुरक्षाको व्यवस्था मिलाउन तथा घटना नदोहोरिने प्रत्याभूति दिलाउन सरकारसँग विवेकशील नेपाली दलले माग गरेकाे छ ।

यसअघि गृहमन्त्री रामबहादुर थापा मेडिसिटी अस्पताल पुगेर घाइतेहरुकाे सरकारले नि:शुल्क उपचार गिरिदिने र मृतक सिंहप्रसाद गुरुङकाे परिवारलाई क्षतिपूर्ति दिने बताउनु प्रतिबद्धता जनाउनु भएकाे थियाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया