सरकारको कार्यशैलीप्रति नेकपाकै नेता नेपालकाे असन्तुष्टि

 फागुन ११, २०७५ शनिबार १६:५९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - सत्तारुढ दल वरिष्ठ नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउनुभएको छ ।

शनिबार काठमाण्डाैमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउदै गएको बताउनुभयो ।

उहाँले सरकारी कार्यालयका कर्मचारीहरु पूरा समय कार्यालयमा नहुने, पैसा बिना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गर्नुभयो । दण्डहीनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उहाँले रोश प्रकट गर्नुभयो ।

अमुक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उहाँले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताउनुभयो ।

नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्नेभन्दा पनि बोल्ने प्रवृत्ति मात्रै हावी भएको टिप्पणी गर्नुभयो । जुनसुकै क्षेत्र र व्यवसायमा देखिएका समस्याहरुलाई राष्ट्रिय समस्याको रुपमा लिदै समयमै सम्बोधन नहुने हो भने त्यसले बिसंगति निम्त्याउने भन्दै उहाँले जनताको गुनासो तत्काल सुन्न सरकारलाई सचेत गराउनुभयो ।

कार्यक्रममा व्यवसायीहरुले पटक पटकको ध्यानाकर्षण गराउदा पनि सरकारले आफूहरुका समस्या सम्बोधन नगरेको गुनासो गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया