सुनको टुक्रा हामीसँगै छ, अझै पनि हामी गरिब : प्रचण्ड

 फागुन ११, २०७५ शनिबार १८:३२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कृषिमा आधारित उद्योगकाे विकासविना देश सम्मृद्ध हुन नसक्ने बताउनुभएको छ । 

भक्तपुरको गठ्ठाघरमा रहेकाे भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दे अध्यक्ष दाहालले कृषि उत्पादकत्व वृद्धिमा जोड दिनुभएको हो । कृषिमा आधुनिकीरण, विविधिकरण र व्यवसायीकरण नै सम्मृद्धिको मुख्य आधार भएको भन्दै उहाँले कृषि उत्पादकत्व वृद्धि गर्न विज्ञान प्रविधिको प्रचुर प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै उत्पादक र उपभोक्ताको दूरी घटाइ उत्पादन बढाउने विषय महत्वपूर्ण रहेको भन्दै उहाँले कृषिलाई उद्योगको रुपमा विकास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर कृषि उत्पादनलाई गुणात्मक ढंगले वृद्धि गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयाे ।

कृषि उद्योगको विकास र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाको लागि लगानी अनुदान नबढाएसम्म देशलाई सम्मृद्ध बनाउने सपना पूरा हुन नसक्ने बताउनुभयो ।

शिक्षा नीति प्रविधिमैत्री र उत्पादनमुखी नभएका कारण बेरोजगार उत्पादन गर्ने काम मात्रै भएको भन्दै उहाँले प्रविधिमैत्री शिक्षा नीतिमा समेत जोड दिनुभयो । उहाँले विदेशीने युवालाई देशभित्रै उत्पादनमुखी कार्यमा लगाउने हो भने शिक्षामा आमूल परिर्वतन अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले स्वदेशको संभाव्यता नहेरी विदेशीनेको जमात देखेर आफै कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो 'कहिलेकाही त म परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर आफै खेती गर्न हिँडू कि भन्या जस्तो पनि हुन्छ', 

उहाँले भन्नुभयाे, 'सुनको टुक्रा हामीसँगै छ, अझै पनि हामी नै गरिब । अब हाम्रो सोचमा परिर्वतन ल्याउनु जरुरी छ, र यसको नेतृत्व राज्यले नै गर्नुपर्छ । ”

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया