आधुनिक बाजाका कारण सुदूरपश्चिमको दमाहा बाजा स‌ंकटमा

 फागुन ११, २०७५ शनिबार १९:३९:२७ | विमल बिष्ट
unn.prixa.net

डोटी - बजारमा भित्रिएका आधुनिक तथा ब्याण्ड बाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा संकटमा पर्दै गएको छ । 

विवाह,न्वारान तथा विभिन्न देवी देउताको पूजाआजा गर्दा अनिवार्य रुपमा बजाउनु पर्ने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । 
दमाहा बाजाको छुट्टै मौलिक महत्व रहिआएको भए पनि युवापुस्ताले बजाउनमा खासै चासो नदिँदा यो पेसा नै संकटमा पर्दै गएको दिपायल पिपल्लाका स्थानीय दीर्घबहादुर बोगटीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बजारमा आधुनिक बाजा आएपछि युवापुस्ताले दमाहा बजाउन खासै चासो देखाएनन, यदाकदा मात्रै यो बाजा बजेको देखिन्छ ।’
जिल्लाका ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँबाट पनि क्रमिक रुपमा लोप हुने अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम नेपालको कला–संस्कृतिसँग जोडिएको दमाहा बाजा क्रमिक रुपमा लोप हुने अवस्थामा पुगेपछि यहाँका बुढापाकाहरु चिन्तित बन्न थालेका छन् । सुदूरपश्चिमका दलित अर्थात नेपाली (ढोली) थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन रहेको छ ।

नेपाली थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन भए पनि बाजा बनाउने काम लुहार तथा सजाउने (बखर्ने) काम भने सार्की थरका व्यक्तिले गर्ने नियम रहेको छ । 

यो पेसातर्फ युवापुस्ताको ध्यान तान्न गराउन नसक्दा दमाहा बाजा नै लोपोन्मुख बनेकोे केआईसिंह गाउँपालिका ५ का स्थानीय चक्रराज जोशीले बताउनुभयो । 
‘दमाहा बाजा संरक्षण नगरिए यो बाजा चाडै लोप हुने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘लोप हुन बाट जोगाउन भए पनि यसको संरक्षण गर्न जरुरी भएको छ ।’

बाजा लोप भएपछि पछिल्लो पुस्ताले थाहा नपाउने हुनाले संस्कृति नै धरापमा पर्ने हुँदा यसको संरक्षण गर्नु आवस्यक रहेको स्थानीय बुढापाकाको भनाइ छ । बाहिरी संस्कृति भित्रिँदै र स्थानीय कलासंस्कृति लोप भइरहेको हँदा नयाँ पुस्तालाई जानकारी गराउनको लागि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने र दमाहा बाजासम्बन्धी मेला–महोत्सवको आयोजना गरिनु पर्ने डोटीका स्थानिय कलाकार सुर्यबिरही साउदले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘बाहिरी कला–संस्कृति भित्र्याउनुभन्दा आफ्नै जगेर्ना गर्नु अति आवश्यक छ ।’ 

आधुनिक बाजा भित्रिएका कारण आफूहरुले पुर्खौँदेिख बजाउँदै आएको दमाहा बाजा लोप हुने अवस्थामा पुगेको जोरायल गाउपालिका ५ का दमाहा बाजा बजाउने धनीराम नेपालीले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘जमाना नै आधुनिक बाजाको पछि लाग्यो, हाम्रो बाजा कसैले मगाउदैनन, बाजानै सँकटमा पर्दैछ ।’
दमाहा बाजा बजाउनेहरुले पञ्चेबाजाको ४० देखि ५० हजार तथा साना बाजाको २० देखि २५ हजार लिर्ने गर्ने गरेको दिपायल राजपुरका स्थानीय तेज विष्टले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अन्य बाजाभन्दा हाम्रो बाजा सस्तो भए पनि संरक्षण नहुँदा समस्या भएको छ, सबै गाउँपालिकाले आफनो ठाउँमा भएका दमाहा बाजा संरक्षण गर्नु जरुरी भएको छ ।’


 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया