शहीद छोराको नाममा छात्रवृत्ति अक्षयकोष स्थापना

 फागुन १३, २०७५ सोमबार १३:३०:३३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – द्वन्द्वकालमा मारिएका शहीद छोराको नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । बाँफिकोट गाउँपालिका–२, का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा शहीद भएका १५ वर्षीय छोरा खड्क केसीको स्मृतीमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

छोराले ५ कक्षा सम्म पढेको जनकल्याण माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको शहीद खड्क स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना भएको हो । 

विद्यालयको ५५ औंँ वार्षिकोत्सवको अवसरमा वडाध्यक्ष खत्रीले अक्षयकोषमा रकम जम्मा गरेको भौचर र चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर खत्रीलाई हस्तान्तरण गर्नुभएको छ । 

यस रकमको ब्याजमार्फत आउने रकमबाट हरेक वर्ष त्यस विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । विद्यालय पोशाक, कापी कलमको अभावमा विद्यार्थीहरुले पढ्नबाट बञ्चित नहोउन भनेर शहीद छोराको नाममा छात्रवृत्ति कोष स्थापना गरेको खत्रीले बताउनुभयो । 

उहाँका अनुसार छात्रवृत्ति वि.सं. २०७६ सालदेखि प्रदान गरिने छ । हरेक वर्षको फागुन १२ गते विद्यालयको वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरिने छ भने फागुन १५ गते छात्रवृति प्रदान गरिने छ । 

खत्रीका जेठा छोरा खड्क २०५२ फागुन १५ गते प्रहरीद्धारा मारिएका थिए । तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि तत्कालीन पिपल गाविसको मेलगैरीमा अन्य ५ जना खत्री बन्धुसँगै खड्क मारिएका थिए । 

त्यतिबेला उनी रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, स्थित जनता माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया