टूटल, पठाओको भ्याट छली अनुसन्धान अन्तिम चरणमा,  आयकर पनि जोडियो

 फागुन १३, २०७५ सोमबार १६:४०:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – आन्तरिक राजश्व विभागले भाडा लिएर मोटरसाइकलको पछाडि मान्छे बोक्ने टूटल र पठाओ कम्पनीको भ्याट छली अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । 

विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले २ वटा कम्पनीको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमा प्रारम्भिक रिपोर्ट आउने जानकारी दिनुभयो  । 

‘हामीले टूटलसँगै पठाओको पनि भ्याट छलीबारे अनुसन्धान गरेका छौँ, अहिले हामीले आयकरलाई पनि जोडेर अनुसन्धान गरिरहेका छौँ, केही इस्यु पत्ता लगाएका छौँ ।’ विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले बताउनुभयो । 

सेवाग्राहीसँगबाट १३ प्रतिशत भ्याट लिने गरे पनि मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता नभएको पाइएपछि आन्तरिक राजश्व विभागले माघ ९ गतेदेखि छानबिन थालेको थियो । 

‘भ्याटमा दर्ता नभइकन यात्रुसँग १३ प्रतिशत बढी रकम असुलेको पाइएको छ, ठ्याक्कै अमाउन्ट अझै निस्केको छैन, तर करछली हो भन्नेमा हामी नजिक पुगेका छौँ’ उप–महानिर्देशक तथा प्रवक्ता ढुंगेलले भन्नुभयो ।

यातायात व्यवस्था ऐनमा निजी प्रयोजनको लागि दर्ता भएकाले सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाइने व्यवस्था गरे  पनि राइड शेयरिङको रुपमा नेपालमा टूटल र पठाओले व्यापार गरिरहेका छन् । 

टूटल र पठाओले गैरकानुनी रुपमा व्यापार गरिरहेको भन्दै आलोचना भैरहेको छ भने सस्तोमा सेवा दिइरहेको भन्दै यसको बचाउ पनि भैरहेको छ ।

टूटलले १९ महिनासम्म उपभोक्ताबाट १३ प्रतिशत भ्याट असुले पनि आफू नै भ्याटमा दर्ता नभएको तथ्य सार्वजनिक भैसकेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Saroj

    Feb. 26, 2019, 6:53 a.m.

    1. Is there VAT and income tax provision for taxi and other public transport systems? 2. Is there a custom and sales tax waiver for the import of Pathao and Tootle vehicles? 3. Do the ride-sharing vehicles also engage in transport strike?

  •  0 Reply

तपाईको प्रतिक्रिया