रोजगार संयोजकमा धेरै अनुत्तीर्ण हुनुका तीन कारण, बाँकी पदपूर्तिका तीन विकल्प

 फागुन १४, २०७५ मंगलबार १४:८:५१ | सन्जिता देवकोटा

काठमाण्डौ – प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न माग गरिएको रोजगार संयोजकका लागि लिइएको परीक्षाको नतिजा सोमबार सार्वजनिक भयो । तर माग अनुसारको पदपूर्ति हुन सकेन ।

७ सय ५३ वटै स्थानीय तहमा एक–एक जना रोजगार संयोजक आवश्यक भए पनि सोमबार प्रकाशित नतिजाअनुसार  ५ सय २१ जना उत्तीर्ण भएका छन् । मागअनुसार २३२ जना पुगेको छैन ।

 रोजगार संयोजकका लागि मन्त्रालयले गएको माघ १८ गतेसम्म आवेदन मागेको थियो । २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए ।

तीमध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यताक्रममा छानिएका थिए ।  प्रारम्भिक योग्यताक्रममा छानिएका उम्मेदवारको फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको थियो ।

परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था छ । तर अधिकृत र सुब्बासरहको पदमा ५२१ जनाले मात्र नाम निकाल्न सके । २३२ ठाउँ खाली भयो ।  

प्रदेश १ मा १३० अधिकृत तहमध्ये ६७ जनामात्र पास भएका छन् भने नायव सुब्बमा ७ जना मागिएको मध्ये ५ जना मात्र पास भएका छन । प्रदेश २ का चाहिएका १३६ अधिकृतमा ९८ जनाले मात्र नाम निकालेका छन् भने ११२ सुब्बा चाहिनेमा ९५ जना मात्र उत्तिर्ण भएका छन् ।

प्रदेश ३ मा ११२ जना अधिकृत तहका कर्मचारी माग भए पनि ९५ जना मात्र पास भएका छन् । गण्डकी प्रदेशमा पनि ७४ जना अधिकृत तहका कर्मचारी चाहिएकोमा ६१ जनाले मात्र नाम निकालेका छन् । 

प्रदेश पाँचमा अधिकृत तहमा चाहिने जति उम्मेदवार पास भएका छन् । तर नासू तहमा ६२ जना माग भए पनि २० जनाले मात्र कम्प्युटर परीक्षा पास गरेका छन् ।
कर्णाली प्रदेशमा ६२ अधिकृत मागिएकोमा २० जनामात्र उत्तीर्ण भएका छन् भने १७ जना सुब्बा चाहिनेमा ९ जनाले मात्र नाम निकालेका छन् । 

सुदूर पश्चिममा ८२ जना अधिकृत तहका रोजगार संयोजक मागिएकोमा ३३ जना मात्र अन्तिम परीक्षामा उत्तीर्ण भएका छन् । योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।  

किन  धेरै अनुत्तीर्ण भए ?

आवश्यकताभन्दा तीन गुणाबढीलाई प्रारम्भिक योग्यताक्रमका आधारमा छानेर परीक्षा लिइएकोमा किन माग अनुसार पनि पास भएनन् त ? 

अनलाइनमार्फत परीक्षा लिइनु 

नेपालमै पहिलो पटक अनलाइनमार्फत परीक्षा लिइएकाले पनि धेरै जना अनुत्तीर्ण भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहाल बताउनुहुन्छ । यसअघि कम्युटरमार्फत परीक्षा नलिइएको हुनाले पनि धेरै जना अनुत्तीर्ण भएको उहाँले बताउनुभयो । 

अंग्रेजी भाषाको प्रयोग

अनलाइन प्रणालीबाट परीक्षा लिइएको र त्यसका लागि अंग्रेजी भाषा प्रयोग भएका कारण पनि धेरै जना अनुत्तीर्ण भएको संयोजक दाहालले बताउनुभयो ।

‘कम्युटर प्रणलीबाट परीक्षा दिँदा अंग्रेजी भाषा प्रयोग गर्नुपर्ने भएकाले अंग्रेजी भाषा प्रयोग गरिएको थियो, धेरैलाई त्यही कारण पनि समस्या भएको हो’, उहाँले भन्नुभयो । 

उत्तीर्णाङ्क धेरै हुनु

उत्तीर्णाङ्क धेरै राखेकाले पनि धेरै जना अनुत्तीर्ण भएको संयोजक दाहालले बताउनुभयो ।

कम्युटरमा राम्रो ज्ञान भएकालाई प्राथमिकता दिनका लागि कम अंक प्राप्त गर्नेलाई लिँदा धेरै समय तालिममै जाने भएकाले दक्ष जनशक्तिले प्रथमिकता पाऊन् भनेर परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ । 

अब कसरी हुन्छ त अपुग स्थानीय तहमा पदपूर्ति ?

मागअनुसार अपुग भएको २३२ स्थानीय तहमा बाँकी रोजगार संयोजकको पदपूर्ति कसरी गर्ने भन्ने विषयमा अहिले निणर्य भइनसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताउनुभयो ।

तर अपुग ठाउँमा पदपूर्तिका लागि तीन वटा विकल्प रहेको र ती तीनमध्ये एक विकल्प बुधबारसम्ममा रोज्ने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो विकल्प स्थानीय तहमा नै भइरहेकाहरुलाई रोजगार संयोजकको जिम्मेवारी दिने, दोस्रो विकल्प निजामती कर्मचारीलाई एक वर्षका लागि काजमा संयोजकको काम लगाउने र त्यो पनि सम्भव नभएमा फेरि विज्ञापन खोलेर आवेदन लिने रहेको छ । 

यस बारेमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो । अहिले परीक्षा दिएका र अनुत्तीर्ण भएकाले पनि नयाँ विज्ञापन गरेर आवेदन मागेमा फेरि आवेदन दिन पाउनेछन् । तर अहिलेको आवेदन काम लाग्ने छैन । नयाँ प्रक्रियामार्फत नै जानुपर्नेछ । 

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रमअनुरूप आफूले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिएबमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका र गाँउपालिका) मा खटाइने श्रम मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

रोजगार संयोजककाे नतिजा : ७ सय ५३ जना माग गरिएकोमा ५ सय २१ जना मात्रै उत्तीर्ण

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया