चुरे क्षेत्रको जंगलमा काठकाे चोरी तस्करी बढ्दाे

 फागुन १४, २०७५ मंगलबार १५:९:५५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - चुरे क्षेत्रको  वन–जंगलमा पछिल्लो समयमा चोरी  तस्करी बढ्न थालेको छ।

तस्करले  जथाभावी काँचो साल ,खयर, साज कर्मा लगायत जातका रुख कटान गर्न थालेपछि चुरेको वन उजाड बन्दै गएको हो। पछिल्लो समय चुरेमा पर्ने कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली लगायतका चुरे जंगलमा तस्करी बढेको  छ ।

चुरे क्षेत्रमा यसरी  दैनिक तस्करी बढन थालेपछि वन कार्यालयलाई  नियन्त्रण गर्न निकै  समस्या परेको छ । केही दिनअघि मात्र तस्करले बिक्रीको लागि लुकाएर राखेको १९४ क्युफिट साल जातको काठ डिभिजन वन कार्यालयले बरामद गरेको छ। तस्करले काटेको ठूलो परिमाणको काठ लालबन्दीमा रहेको सेक्टर वन कार्यालयले  पत्थरकोट अन्तर्गत बाहुनी खोलाबाट बरामद गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिनुभयो ।

तस्करले काठ पुरानो बनाउन माटो, बालुवा, स्याउलाले छोपेर राख्ने र पछि पुरानो देखिएपछि  बेच्ने गरेका छन् । उनीहरुले सालको एउटा कडी तीन हजार भन्दा माथिको मूल्यमा बिक्री गर्ने गरेका छन् ।

तस्करले काठ काटेर ट्याक्टर राखेर बिक्री गर्ने लैजाने गरेको स्थानीयले बताएका छन् । अहिले चुरेको वनमा तस्करहरुले दिउँसै निर्धक्कसँग धमाधम काँचो रुख कटान गरिरहेका छन् ।

यसरी तस्करले जथाभावी रुख काट्दा चुरेको अस्तित्व नै खतरामा पर्ने र चुरे दोहन बढन सक्ने विज्ञहरूको भनाइ छ। पछिल्लो समय अन्यत्रबाट बसाइ सराइ गरी आउनेको संख्या चुरेमा बढदै गएपछि चुरे जोगाउन चुनौती थपिएको छ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया