अधुरै रह्याे पोखरामा जेट ओर्लिएकाे हेर्ने मन्त्री अधिकारीकाे धाेकाे

 फागुन १५, २०७५ बुधबार १८:३५:८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – तोकिएको समयभन्दा अगाडि नै पोखरामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलको काम सक्ने र काम सकिएसँगै आफ्नै कार्यकालमा जेट विमान ओर्लिएकाे हेर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको धोको थियो । 

गएको बिहीबारदेखि पोखरामा सुरु भएको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दा मन्त्री अधिकारीले आफ्नो मन्तव्यको क्रममा पनि यो कुरालाई दोहोर्‍याउनुभएको थियो । 

त्यतिमात्रै होइन, निर्माणाधीन पोखरा रंगशालामा प्यारापिटविना नै फुटबल हेरिरहेका पोखरेली जनसमुदाय सामु अर्काे साल सुविधासम्पन्न प्यारापिटमा सँगै बसेर फुटबल हेर्ने वाचासहित काठमाण्डौ फर्कनुभएका मन्त्री अधिकारी अब कहिल्यै पोखरा नफर्कने गरी बिदा हुनुभएको छ । 

उहाँले उद्घाटन गर्नुभएको फुटबल प्रतियोगिता अहिले पनि पोखरा रंगशालामा चलिरहेको छ । त्यसैगरी पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अहिले द्रुत गतिमा चलिरहेको छ । 

आउँदो सन् २०२१ को असारभित्रै यो काम सक्ने योजना छ, तर मन्त्री अधिकारीले ३ महिना अगाडि नै पोखरामा विमानस्थल निर्माणको काम सक्नेगरी काम भैरहेको बताउँदै आउनुभएको थियो ।  

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि उहाँ फेरि २०७४ सालको संघीय संसद सदस्यमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । लगातार तेश्रो पटक निर्वाचित सांसद अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुनुहुन्थ्याे ।

२०२६ वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा जन्मनुभएका मन्त्री अधिकारी २०७० को चुनावपछि संसदको विकास समितिमा सभापति रहनु भएको थियो । 

०५६ को चुनावमा वामदेव गौतमले नेतृत्व गर्नुभएको तत्कालिन नेकपा मालेबाट चुनाव लड्दाको पराजयबाहेक उहाँले कहिल्यै हार्नुभएन । 

अधिकारीलाई कास्कीको राजनीतिमा आशाको दियोको रुपमा हेरिएको थियो । यस अघि कास्कीबाट पटकपटक सांसद तथा मन्त्री भैसकेकाहरुभन्दा अधिकारी प्रभावशाली मानिनुहुन्थ्यो । उहाँलाई कास्की जिल्लाबाट पहिलो प्रधानमन्त्री दावी गरिएको थियो । 

निभ्यो आशाको दियो 

सानैदेखि राजनीतिमा रुची राख्ने भए पनि अधिकारी सामाजिक सेवामा पनि त्यतिकै सक्रिय हुनुहुुनथ्यो । राजनीतिमा सक्रिय रुपमा लाग्नुअघि उहाँ शिक्षक पनि हुनुहुन्थ्यो । 

शिक्षक हुँदा उहाँले विद्यार्थीहरुलाई निःशुल्क रुपमा ट्यूसन पढाएर पनि गुणस्तरीय शिक्षाको लागि पहल गर्नुभएको थियो । उहाँ विद्यार्थी कालमा अनेरास्ववियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनुभयो । उहाँले विद्यालयमा मात्र नभइ देशभरमै अनेरास्ववियुको नेतृत्व पनि गर्नुभएको थियो । 

उहाँले २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित हुनु भयो । 

२०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्नुभएका अधिकारी २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनुभएको थियो । 

त्रि.बि.बाट व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका अधिकारीले संविधान सभा, लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको छ । 
विगत दुई दशकदेखि उहाँका विभिन्न अनुसन्धान र राजनीतिक लेखहरु छापिएका छन् । उहाँले पञ्चायतकालमा पटक–पटक गरी ६ महिना जेलमा बिताउनुभयो । 

०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उहाँले क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । हाल उहाँ पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य हुनुहुन्थ्यो ।

युवापुस्तामा उहाँ ज्यादै प्रभावशाली मानिनुहुन्थ्यो । विपक्षीहरुको नजरमा पनि उहाँ ज्यादै भद्र नेता मानिनुहुन्थ्यो । 

राजनीतिमा सबैलाई मिलाएर लाने उहाँको मुख्य विशेषता थियो । पछिल्लो समयमा कास्की मात्रै होइन गण्डकी प्रदेशको प्रभावशाली नेताको रुपमा उहाँलाई हेरिएको थियो । तर यी सबै आशाको दियो उहाँको निधनसँगै निभेको छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया