व्यवसाय विस्तारकै क्रममा अस्ताए पर्यटन क्षेत्रका हस्ती

 फागुन १६, २०७५ बिहिबार ९:३७:४८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – ५८ वर्षअघि सोलुखुम्बुको जुभिङमा जन्मिएका आङ छिरिङ शेर्पा पर्यटन व्यवसायमा आफ्नो ‘साम्राज्य’ फैलाउन सफल व्यवसायी हुनुहुन्थ्यो । उहाँको थामसेर्कु ट्रेकिङ कम्पनी पर्यटनको क्षेत्रमा अग्रणी कम्पनी हो । उहाँले पर्यटन व्यवसायको क्षेत्रका हवाइजहाज, हेलिकप्टर, ठूला होटल÷रिसोर्टदेखि लिएर बिभिन्न कम्पनीहरु देशैभर फैलाउनुभएको थियो । जुभिङको अति विकट पाङगोम गाउँबाट भरिया बन्न काठमाण्डौ आएका शेर्पा चार दशकमा पर्यटन व्यवसायमा यस्तो ‘साम्राज्य’ फैलाए कि, देख्ने र सुन्नेहरु जो कोही चकित हुन्छन् । 

उहाँको पारिवारिक वातावारण नै व्यवसायमैत्री थियो । आफ्नै दिदीको ट्रेकिङ कम्पनीबाट भरिया काम शुरु गरेका आङ छिरिङका जेठा दाजुको पहिले नै निधन भएको थियो अरु तीन जना दाजुभाइ नै पर्यटन व्यवसायमा संलग्न भए । सबैजसो कम्पनी दाजुभाइको सहभागितामा गर्ने उनीहरुमा आङ छिरिङ ‘बिजनेस माइन्ड’ र ‘मास्टर माइन्ड’ भएको उहाँका निकटस्थहरु बताउँछन् । 

गाउँमा प्रशस्त जग्गा थियो । पशुपालन गर्थे । बाबु गाउँका धनाढ्य मानिन्थे । उनीहरुका बाबु तिब्बततिर व्यवापार पनि गर्थे । जब एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले साँढे ६ दशकअघि सगरमाथाको पहिलो आरोहण गरे, त्यसपछि सोलुखुम्बुको खुम्बु क्षेत्रमा विदेशीहरुको चहलपहल सुरु भयो । त्यही मौकामा उनीहरुको परिवार पनि विदेशीहरुलाई घुमाउँदै पर्यटन व्यवसायमा लाग्यो । 

आङ छिरिङलाई नजिकबाट जान्नेहरुका अनुसार उहाँ खरो स्वभावको हुनुहुन्थ्यो । पहिलो भेटमै उहाँ धेरैलाई हप्काउनुहुन्थ्यो । मनमा लागेको कुरा सिधै भन्ने उहाँ कहिल्यै पनि आफू अघिल्तिर नभएको मान्छेको कुरा काट्नु हुँदैनथियो । जे भन्नु छ सिधै भन्ने उहाँ उत्तिकै सहयोगी पनि हुनुहुन्थ्यो ।

उहाँ मिडियामा विरलै आउनुहुन्थ्यो । केही सोधखोज भएमा प्रवक्ता वा कार्यालयको जिम्मेवार कर्मचारीलाई अघि सार्नुहुन्थ्यो । जहिले पनि पर्यटन व्यवसायलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा तल्लिन रहने उहाँले पर्यटन व्यवसायको स्थलगत अध्ययनकै लागि थुप्रै पटक बिभिन्न देशको भ्रमण गर्नुभएको थियो ।
२० वर्षमै देशको नमूना हवाईजहाज कम्पनी बनेको यति एअरका उहाँ प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । तारा एअर उहाँकै समूहको हो भने तेह्रथुम दुर्घटनामा परेको एअर डाईनेष्टी हेलिकोप्टरको पनि उहाँकै समूहको ठूलो शेयर छ । पछिल्लो समयम उदाएको हिमालय एअर उहाँकै समूहको हो । त्यसमा चिनियाँ लगानी भए पनि भूमिका उनकै थियो । उहाँकै सक्रियतामा ती हवाई कम्पनीहरुले उच्च सफलता प्राप्त गरेका थिए ।

काठमाण्डौको गोकर्ण रिसोर्ट, भैरहवाको कसरा रिसोर्ट, सोलुखुम्बुको यति होम लगायतका सुविधा सम्पन्न होटल/रिसोर्ट उहाँकै हुन् । उहाँ सरकारलाई धेरै कर तिर्नेमध्ये पनि पर्नुहुन्छ । २०५० सालपछि फस्टाएको हिमाली पर्यटन सुधार र व्यवस्थित बनाउन ठूलो भूमिका उहाँकै रहेको पर्यटन क्षेत्रमा काम गर्नेहरु बताउँछन् । 

उहाँकी माईली भाउजु स्वर्गीय पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुन्छ । उहाँको सगरमाथा आरोहण गरेर फर्कने क्रममा ज्यान गएको थियो । उहाँका भाइ टेण्डि शेर्पाको पनि २०५५ सालमा सोलुखुम्बुको बासामा रहेको अँधेरीखोलामा हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गएको थियो ।  

धेरै नेताहरुसँग निकट सम्बन्ध राख्ने उहाँ पर्यटन व्यवसाय अनुकूल कानुनी वातावारण तयार गर्न पनि खप्पिस हुनुहुन्थ्यो । धेरैका ‘छिरिङ दाइ’ उहाँ आफूसँग छोटो भेट गर्ने मानिसलाई पनि प्रशस्त उत्प्रेरणा दिन सक्ने खुबी भएका कारण धेरैको प्रेरणाको श्रोत भएको ट्रेकिङ व्यवसायमा लागेकाहरु बताउँछन् । 

थुप्रै प्रतिष्ठित कम्पनीका मालिक शेर्पा कर्मचारीप्रति निकै सकारात्मक हुनुहुन्थ्यो । उहाँका जुनसुकै कम्पनीमा काम गर्न पाउनुलाई धेरैले सफलता मान्ने गरेका छन् । कर्मचारीको मन दुखाएर व्यवसायमा सफलता पाउन सकिंदैन भन्ने उहाँ कर्मचारीलाई उत्कृष्ट सुबिधा र अवसर सृजना गर्न सधैं तल्लीन रहनुहुन्थ्यो । 

दूर्गममा सेवा गर्दा घाटा परे पनि गर्नुपर्छ भन्ने उहाँका हवाईजहाज र हेलिकोप्टर हिमाली क्षेत्रमै बढी केन्द्रित हुन्थे । पर्यटकबाट नाफा कमाउने र सुलभ दरमा नेपालीलाई सुविधा दिने उहाँकै योजना अनुसार कार्यान्वयनमा छ । पर्यटकलाई पनि सुरक्षा, प्रशिक्षित गाइड, गुणस्तरीय सेवा प्रदान गर्ने भएका कारण धेरै विदेशीहरु उहाँकै कम्पनीबाट घुम्न रुचाउँथे । व्यवसायमा साम्राज्य फैलाएर पनि कमै मात्र विवादमा आएका उहाँले अन्ततः व्यवसाय फैलाउने क्षेत्रको अध्ययनमै जाँदा हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाउनुपर्‍याे । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया