भारतीय पाइलट रिहा गर्ने विषयमा भारतसँग वार्ता गर्न पाकिस्तान तयार

 फागुन १६, २०७५ बिहिबार १७:१८:३२ | एजेन्सी
unn.prixa.net

भारत–पाकिस्तान बीचमा बुधबार भएको हवाई आक्रमणकै क्रममा भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमान पाकिस्तानको कब्जामा रहेका छन् ।

भारतले आफ्ना कमाण्डरलाई सुरक्षित रुपमा पाकिस्तानले फिर्ता गर्नुपर्ने माग गर्दै आएको छ । 

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारतीय पाइलट अभिनवलाई रिहा गर्ने विषयमा भारतसँग कुरा गर्न पाकिस्तान तयार रहेको बताएका छन् । 

पाकिस्तानी पत्रकार हामिद मीरले ट्वीट गर्दै जियो न्यूजसँगको अन्तर्वार्तामा विदेशमन्त्री कुरैशीले भारतसँग वार्ता गर्न तयार रहेको बताएको जानकारी दिएका छन् । 

भारतले पनि दिल्लीमा रहेका पाकिस्तानी उच्च आयुक्तलाई बोलाएर घटनाको विरोध जनाएको बताएको छ । 

को हुन् अभिनन्दन ?

अभिनन्दन भारतीय वायु सेनाका विङ्ग कमाण्डर हुन् । बुधबार उनी लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो । 

पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ । एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’

त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन्  भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् । त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् । 

अभिनन्दनका बुवा पनि भारतीय वायु सेनामा थिए । उनका भाइ पनि वायु सेनामा नै रहेको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया