रवीन्द्र अधिकारीको सपना थियो लक्ष्मणपुर बाँध भत्काउने

 फागुन १६, २०७५ बिहिबार १७:४३:१९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई बाँकेवासीहरु लक्ष्मणपुर बाँध तथा कलकलवा तटबन्धसँग जोड्छन् । 

अधिकारीले भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुभएको थियो ।

भारत सरकारले अन्तर्राष्ट्रिय सीमा नियमविपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धको विरोधमा पहिलोपटक अधिकारीको नेतृत्वमा बाँधनजिकै विरोध प्रदर्शन भएको थियो ।

दुई दशकअघि अधिकारी तत्कालीन नेकपा माले निकट अनेरास्ववियूको अध्यक्ष हुँदा उहाँकै नेतृत्वमा लक्ष्मणपुर बाँध भत्काउनुपर्ने मागसहित मार्चपास गरिएको थियो ।

तत्कालीन अनेरास्ववियू बाँकेका सचिव तथा हाल नेकपा नेपालगञ्ज उप–महानगरपालिका कमिटीका सचिव दत्तप्रसाद आचार्य अधिकारीले पहिलो पटक सीमाक्षेत्रका बासिन्दाको आवाजलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याएको स्मरण गर्नुभयो । 

नेपालगञ्जबाट अधिकारी नेतृत्वको टोली भारतले निर्माण गरेको कलकलवा बाँध नजिकै पुग्न लाग्दा भारतीय सुरक्षाकर्मीले रोकेपछि नजिकैको होलिया गाउँमा सभा गरेको थियो ।

सभालाई सम्बोधन गर्दै अधिकारीले हजारौँ नेपाली भूमि डुबाउने गरी निर्माण गरिएको लक्ष्मणपुर बाँध तत्काल भत्काउनुपर्ने माग गर्नुभएको तत्कालीन विद्यार्थी नेता तथा हाल नेकपाका नेता सतिश निरौलाले बताउनुभयो । 

यसैबीच नेकपाले बिहीबार नेपालगञ्जमा स्व. अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । त्यस क्रममा मन्त्री अधिकारीसँग निकट सम्बन्ध भएका पूर्व विद्यार्थी नेता तथा नेकपाका नेता रत्न खत्रीलगायतका नेता कार्यकर्ताका गहभरि आँशु देखिन्थ्यो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया