इलामका पूर्वाधारमा जीवितै छन् स्व. उपसचिव दाहाल

 फागुन १७, २०७५ शुक्रबार २०:३६:२२ | सुजता सुनुवार
unn.prixa.net

इलाम – ‘काम गर्नुपर्छ, स्रोत आफै जुट्छ ।’ ‘सम्झनामा मात्र रहे अब यी प्रेरणादायी वाक्य’,   इलाम नगरपालिकाका शाखा अधिकृत राम साहले भन्नुभयो ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि असामयिक निधन भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव एवं प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव स्व. युवराज दाहाललाई सम्झँदै शाखा अधिकृत शाहले यसरी सम्झनु भएको हो ।

गएको फागुन १५ गते बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि दाहालको मृत्यु भएको हो । तर इलामेलीका लागि भने उहाँ सधैँ नै जीवित हुनुहुन्छ । ‘उहाँ सधैँ अमर रहनुहुन्छ’, शाखा अधिकृत साह दिवंगत दाहालले इलामलाई लगाएको गुन सम्झँदै भन्नुहुन्छ ।

इलामवासीसँग विगत लामो समय अगाडिबाटै स्व. दाहालको आत्मीय सम्बन्ध छ । उहाँलाई इलामको माटोले सदा–सदा सम्झिरहनेछ । इलाम नगरपालिकाको कार्यकारी अधिकृत भएर चार वर्षसम्मको कार्यभार सम्हाल्नु भएको थियो उपसचिव दाहालले । इलाम बसाइ सीमित समय रह्यो । तर इलामबासीका लागि थुप्रै अवसर सृजना गरेर अघि बढ्ने प्रेरणा दिने उहाँको बसाइ हर घडी रहिरहनेछ । उहाँका कार्यकालमा बनेका भौतिक संरचनाले उहाँलाई सदैव जीवित गराइरहनेछ । 

समृद्ध इलाम बन्नुमा दाहालको भूमिका

सम्भावना नै सम्भावना भएको पर्यटकीय जिल्ला इलामलाई सिँगार्न अधिकृत दाहालसँग प्रष्ट खाका थियो । उहाँकै योजनामा बनाइएका पूर्वाधार अहिले पनि नगरपालिकाको पर्यटन विकासका सारथी बनेको छ । जसले इलामलाई समृद्ध नगर बन्नमा ठूलो भूमिका खेल्छ । 

नेपालकै सबैभन्दा पुरानो चिया बगान क्षेत्रमा ट्रेकिङ रोड, चियाबारीमा पोखरी, भ्यू टावर, ठाउँ–ठाउँमा प्यागोडा शैलीको चौतारा निर्माण गरिएका छन् । यस्तै गौतम बुद्ध सभागृहको भवन र शीत भण्डारको काम दाहालकै नेतृत्वमा भएका हुन् । 

इलाम नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको सुकिलुम्बा विमानस्थलको शिलान्यास हुने कार्य,  इलामलाई वि.सं. २०६८ साल जेठ १९ मा हरितनगर इलाम घोषणा गरिएको हो । योस्व.दाहालकै अवधारणा हो ।

यस्तै नेपालमा नै पहिलो पटक वि.सं. २०६६ सालमा नगरपालिकालाई प्लास्टिकमुक्त शहर बनाउने अभियान इलामबाट नै सुरु गरिएको हो । यो अभियानका मुख्य योजनाकार स्व. उपसचिव दाहाल नै हुनुहुन्छ । 

वि. सं. २०६९ साल वैशाखमा उहाँ दमक सरुवा भएर जानु भएको हो । कार्यकाल पूरा गरेर इलामलाई छोडे पनि उहाँको मनमा इलाम थियो । रोजाइमा इलाम नै परेको थियो भन्ने पुष्टि यी कार्यले गर्छ । सदरमुकामस्थित फाल्गुनन्द विमानस्थलको निर्माण सम्पन्न गर्नको लागि गएको फागुन १४ गते  ११ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

पाँच वटा विमानस्थल सुधारका लागि इलामको विमानस्थल पनि पर्नुमा दाहालको महत्वपूर्ण भूमिका रहेको पाइएको छ । यस कार्यले पनि इलामका लागि दाहालको अतुलनीय योगदान रहेको छ भन्नुहुन्छ इलामका विजय शेखर भट्टराई ।  

इलामवासी भन्छन् : दाहाल मिलनसार थिए 

‘इलामवासीका नजरमा दाहाल सरल र मिलनसार स्वभावका हुनुहुन्थ्यो । दाहाल विकासका विभिन्न खाका भएका व्यक्ति हुनुहुन्थ्यो’, उहाँसँगै लामो समयसम्म सहकार्यमा खटिएका इलाम नगरपालिकाका अधिकृत साहले भन्नुभयो । 

‘सुन्दर इलाम निर्माणका लागि अहोरात्र खटिएका दाहालको दुर्घटनामा परेर मृत्यु भयो भन्ने खबरले सिङ्गो देश नेपालसँगै इलाम पनि स्तब्ध बनेको छ । उहाँको मृत्युमा इलाम रोएको छ । उहाँ मरेर गए पनि उहाँको काम र देनलाई बनिएका संरचनाले सदैव ताजा गराइरहने छ । स्व. दाहालले देखाएको तत्परता इलामवासीको मानसपटलबाट कहिल्यै हट्ने छैन । 

स्थानीय सरकार गठनपछि पनि दाहालकै कार्यकालमा भएका योजनाअनुसार काम भइरहेको इलाम नगरपालिकाले जनाएको छ । दाहालले २०६५ माघ ५ देखि २०६९ वैशाख ३१ सम्म इलाम नगरपालिकाको कार्यभार सम्हाल्नु भएका थियो ।

चार वर्ष सहकार्य गर्दा युवराज दाहालको काम गर्ने तौरतरिकाले प्रभावित बनाएको सँगै काम गरेका कर्मचारीहरुको भनाइ छ । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया