भारत–पाकिस्तान तनाव कम गर्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने जोर्डनी राजाको प्रस्ताव

 फागुन १८, २०७५ शनिबार ८:३४:४ | एजेन्सी
unn.prixa.net

जोर्डनका राजा अब्दुल्लाह द्वितीय

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर चिन्ता व्यक्त गरेका छन् । 

शुक्रबार जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई टेलिफोन गर्दै दक्षिण एसियाका दुई छिमेकी देशबीच बढ्दै गएको तनावका बारेमा कुरा गरेका हुन् । 

पाकिस्तानी सत्तारुढ दल पाकिस्तान तेहरीक–ए–इन्साफका अनुसार दुई देशबीचको तनाव कम गर्न जोर्डनका राजाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताएका छन् । 

कुराकानीका अवसरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीच तनाव कम गर्न पाकिस्तानले आफ्नो पक्षबाट काम गरिरहेको पनि जोर्डनका राजालाई बताएका छन् । 

 

प्रधानमन्त्री खानले गरेको मध्यस्तकर्ता बन्ने प्रस्ताव गरेका जोर्डनका राजा अब्दुल्लाह द्विीतीयलाई धन्यवाद पनि दिएका छन् । 

बिहीबार मात्रै रुसले पनि परमाणु शक्तिसम्पन्न दुई देशबीच बढ्दै गएको तनाव कम गर्नका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चाहेको बताएको थियो । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग इस्लामाबाद र नयाँ दिल्लीबीच बढ्दै गएको दूरी छिट्टै हल हुने आशा व्यक्त गरेका थिए ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले रुसको प्रस्तावलाई आफूले स्वीकार गरेको पनि बताएका छन् ।

पाकिस्तानी विदेशमन्त्री कुरैशी भन्छन्, ‘रुसी विदेशमन्त्री सेर्जेई लाभरोभले प्रस्ताव गरेका छन् । मलाई भारतका बारेमा थाहा छैन । पाकिस्तान वार्ताका लागि टेबलमा आउन तयार छ ।’

सेर्जेई लाभरोभ

केही दिनअघि भारत प्रशासित जम्मू–कश्मीरको पुलवामामा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि दुई देशबीच तनाव बढ्दै गएको छ ।

पछिल्ला केही दिन दुवै देशले एक अर्कामाथि हवाई आक्रमण गरेका थिए । भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानले केही दिन कब्जामा राखेको थियो । 

शुक्रबार पाकिस्तानले आफू वार्ताबाटै समस्याको समाधान चाहेको भन्दै शान्तिको संकेतस्वरुप पाइलटलाई भारतलाई सुम्पिएको छ । यसले गर्दा पनि भारत–पाकिस्तानबीचको तनाव कम हुने आंकलन गर्न सकिन्छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया