छात्रालाई उच्च शिक्षामा आकर्षित गर्न साइकल सहयोग

 फागुन १८, २०७५ शनिबार १६:१५:६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – शिक्षामा पछि परेको बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई उच्च शिक्षामा आकर्षित गर्न साइकल सहयाेग गरेकाे छ ।

गाउँपालिकाले विद्यालय आउन प्रेरणा मिलाेस् भनेर माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल सहयोग गरेको हाे ।

नरैनापुर गाउँपालिका मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको स्थानीय तह हो । प्रदेश नम्बर ५ कै पिछडिएको क्षेत्रको रुपमा रहेको यस गाउँपालिकाका अभिभावकहरुमा शिक्षाप्रतिको सचेतना कमजोर भएका कारण  यस्ताे प्रोत्साहन गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।

गाउँपालिकाभरी एउटा पनि उच्च माध्यमिक विद्यालय र क्याम्पस नभएका कारण विद्यार्थीहरु उच्च शिक्षाका लागि सीमावर्ती भारतीय बजार वा फत्तेपुर र नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । शिक्षकहरुका अनुसार,विद्यालयमा विद्यार्थीको उपस्थिति समेत न्यून हुने गरेको छ ।

गाउँपालिकामा रहेका तीनवटा माविमा यसै वर्ष ५५ जना छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । शनिबार पहिलोपटक महेन्द्र मावि मटैयाका २४ जना छात्रालाई साइकल हस्तान्तरण गरिएको छ । कक्षा ९ र १० मा अध्ययन गर्ने सम्पूर्ण छात्रालाई साइकल सहयोग गरिएको हो ।

यसैगरी आदर्श मावि लक्ष्मणपुरका कक्षा ८,९ र १० मा अध्ययनरत छात्रा तथा जयकिसन मावि भोजपुरमा कक्षा १० मा अध्ययन गर्ने सम्पूर्ण छात्राहरुलाई साइकल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया