दिवंगत नेता अधिकारीको पार्थिव शरीर ९ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा राखिने

 फागुन १९, २०७५ आइतबार ७:७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिंदैछ । पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो । २०४७ सालको संविधानको मस्यौदाकार अधिकारी २०५१ मा बनेको तत्कालीन एमालेको नौ महिने अल्पमतको सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । 

त्यतिबेला वृद्धभत्ता वितरण र आफ्नो गाउँ आफैँ बनाऔंलगायतका कार्यक्रम लागू गरेर उहाँले लोकप्रिय अर्थमन्त्रीको छवि बनाउनुभएको थियो । उहाँ चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिकामा हुनुहुन्थ्यो । दिवंगत नेता अधिकारीले २०७१ को महाधिवेशनबाट पार्टीको कुनै पनि जिम्मेवारी नलिने गरी स्वैच्छिक अवकाशको घोषणा गर्नुभएको थियो । 

अधिकारीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया