माैसम : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

 फागुन १९, २०७५ आइतबार ७:४४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबारदेखि देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो । 

मौसमविद् प्रधानाङ्गका अनुसार काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा आइतबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

सोमबार र मंगलबार पनि देशको धेरैजसो ठाउँको मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको छ, तर ठूलो पानी पर्ने अथवा लगातार पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रधानाङगले बताउनुभयो ।

यो वर्ष पश्चिमी वायु लगातार रुपमा नेपाल भित्रिइरहेको छ । यसैको प्रभावले केही दिनमा नै मौसम बदलिरहेको छ । लगातार रुपमा भित्रिरहेको पश्चिमी वायुका कारण धेरै लामो समयसम्म घाम लाग्न सकेको छैन । महाशाखाका अनुसार यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी भएको छ ।

यो वर्ष गएको पुस २३ गते काठमाण्डौ उपत्यकामा पहिलोपटक हिउँदे वर्षा भएको थियो । त्यसपछि भने लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया